स्थानीय तहमा खवरदारी पहिलो प्राथमिकता
सम्पादकीय
आजबाट नयाँ वर्ष २०७९ शुरु भएको छ । आजदेखि इजलास दैनिक पनि छैटौ वर्ष लागेको छ । नयाँ वर्षको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दछौं । नयाँ वर्षको प्रारम्भ र हाम्रो वार्षिकोत्सव हरेक वर्ष सँगसँगै हुने गर्छ । यो महत्वपूर्ण यात्रामा सबै पाठक वर्ग, विज्ञापनदाताको सहयोग र सद्भाव हामीलाई सधैं हौसला प्रदान गरिरहेको हुन्छ । आजसम्म आइपुग्दा विशेष गरि सामाजिक विकृति, विसंगति र भ्रष्चार विरुद्ध आवाज उठाइरहेका छौं । स्थानीय तहको पहलिो निर्वाचनसँगै प्रकाशन शुरु भएको हाम्रो यात्रा अविचलित रुपमा जारी छ ।
अबको वर्ष थप उत्साहका साथ काम गर्ने, नागरिकको सूचनाको हक प्रत्याभुत गर्ने अठोट छ । वितेको पाँच वर्ष खवरदारीका अनेकौ श्रृङ्खला सञ्चान गरेका छौं । अब, निरन्तर स्थानीय तहमा खवरदारी गर्ने संकल्प गरेका छौं । आम नागरिकको मुल सरोकार राख्ने, विकास निर्माणको पहिलो आधार स्थानीय तह भएका कारण यसको खवरदारी गर्दै नागरिकप्रति जवाफदेही बनाउने सोच छ । जबसम्म स्थानीय तहलाई जिम्मेवार र जवाफदेही बनाउन सक्दैनौं तबसम्म तल्लो तहसम्म सरकारको पहुँच हुन नसक्ने निष्कर्ष छ ।
कोरोना महामारीको कठोर समय पार गरेर अघि बढेको हाम्रो यात्रालाई थप रचनात्मक बनाउने कुरामा कहिकतैं कमजोरी हुनेछैन । त्यसका लागि तपाई सम्पूर्ण पाठक वर्गको सल्लाह, सूझाव र सहयोगको उत्तिकै खाँचो पर्नेछ । विगतका वर्षहरुमा इजलास खरो रुपमा उत्रिएकै हो । अझै पनि इजलास आफ्नो उद्देश्य अनुरुप खरो उत्रिने छ । कोरोनापछि अर्थतन्त्रमा धक्का लागेको छ । उधोग व्यवसाय क्षेत्र अप्ठ्यारो अवस्थामा पुगेको छ । त्यसको प्रत्यक्ष मार हामीले पनि नमज्जाले खेपिरहेका छौं । यसर्थ, आगामी यात्रामा तपाइहरुको साथ, सहयोगको थप जरुरी छ । यहाँसम्मको यात्रामा साथ सहयोग प्रदान गर्नुहुने सबैमा आभार प्रकट गर्दछौं । नयाँ वर्ष २०७९ को फेरि पनि शुभकामना ।