किसान समुदाय : सामाजिक सुरक्षा भत्ता शिक्षाका लागि वरदान सावित
चन्द्रकला भण्डारी
झापा । छिमेकीका नानीहरु ड्रेसमा सजिएर बोर्डिङ स्कुल गएको देख्दा मेचीनगर नगरपालिका–९ की ७० वर्षीया ज्योति किसानलाई आफ्ना नानीलाई पनि त्यसैगरी पढ्न पठाउन पाए हुथ्यो भन्ने लाग्थ्यो ।
आर्थिक अभावका कारण त्यो उहाँको लागि धेरै टाढाको कुरा थियो तर समयले कोल्टे फे¥यो । उहाँको इच्छा छोराको पालनामा पूरा नभए पनि नातिको पालामा भने पूरा भयो । आज उहाँका १० देखि १५ वर्षसम्मका नातिनातिना छिमेकीको नानीझैँ सजिएर बोर्डिङ स्कुल जान थालेका छन् । उनीहरुलाई बोर्डिङसम्म पु¥याउन सामाजिक सुरक्षा भत्ताले सहयोग गरेको उहाँको भनाइ छ ।
‘भात खानै समस्या थियो उबेला’, ज्योतिले भन्नुभयो, ‘आज सरकारले दिने भत्ताले सजिलो बनायो । नानीहरुलाई पनि पढ्नका लागि सरकारीदेखि बोर्डिङसम्म पु¥यायो ।’ उहाँका तीन जना नाति र नातिनी छन् । तीनै जनालाई उनीहरुकै नाममा आउने सामाजिक सुरक्षा भत्ताले पढ्ने खर्च पुगेको छ ।

नेपाल सरकारले ज्येष्ठ नागरिक, एकल महिलासँगै लोपोन्मुख समुदायलाई समेत सामाजिक सुरक्षा भत्ता दिँदै आएपछि आर्थिक अभावमा छोराछोरीलाई शिक्षा दिन नसकेका किसान समुदायका लागि वरदान सावित भएको हो । नेपालमै मेचीनगर नगरपालिकामा मात्रै बसोबास गर्दै आएको यो समुदाय अतिविपन्न भएकै कारण शिक्षा र स्वास्थ्यबाट विगतदेखि नै वञ्चित हुँदै आएको थियो । ‘सरकारले दिएको सुरक्षा भत्ता हामी मासिदिँदैनौँ’, किसानका राजाको रूपमा रहनुभएका मेचीनगर–९ का सुन्दरलाल किसानले भन्नुभयो, ‘उनीहरुको शिक्षामा लगानी गरिरहेका छौँ ।’
किसान समुदायका बालबालिका शिक्षित भएसँगै अहिले उनीहरुको परिवार र बस्ती नै शिक्षित महसुस भएको उहाँको भनाइ छ । उहाँले अधिकांशले छोराछोरीलाई बोर्डिङ र सरकारी स्कुल पठाउने गरेको बताउनुभयो । बालबालिकाको नाममै आएको रकमले मासिक शुल्क तिर्ने, खाजालगायतका उनीहरुलाई आवश्यक सामग्री खरिद गर्न पुग्दै आएको उहाँले जानकारी दिनुभयो ।
किसान समुदायका अगुवा जोगी किसानले भत्ताकै कारण समुदायको चेतनास्तरमा समेत सुधार आएको बताउनुभयो । ‘हिजो काम नहुँदा के खाउँ भन्ने चिन्ता थियो आज छैन’, उहाँले भन्नुभयो, ‘हाम्रो त जागिर जस्तै भएको छ, तीन तीन महिनामा १२ हजार पाउँछौँ ।’ उहाँले खेतबारी पनि नभएका र रोजगारीसमेत नपाइरहेको अवस्थामा पाएको भत्ता धेरैको जीवन गुजाराको माध्यम भएको बताउनुभयो ।
उहाँका अनुसार विगतमा जाँडरक्सी खाएर सकिने भत्ताको समुदायमा आएको सामाजिक चेतनाले शिक्षामा लगानी हुन थालेको हो । यो समुदायका पुरुषभन्दा स्कुल, कलेज गएर पढ्ने विद्यार्थीमा महिला बढी छन् । हाल एसएलसी पास गर्नेको संख्या २०० बढीको हाराहारी छ । त्यसैगरी प्लस टु पास गर्ने ७० भन्दा बढी र स्नातक गर्नेको संख्या २० को हाराहारीमा रहेको उहाँको भनाइ छ ।
सरकारले २०५२ सालदेखि ज्येष्ठ नागरिकलाई जीवन निर्वाह गर्न सघाउनका लागि रु १०० का दरले भत्ता दिन थालेको थियो । हाल सो रकम बढेर मासिकरूपमा रुचार हजारका दरले वितरण गर्दै आएको छ । सरकारले अझै भत्ता बढाइदिए त रोजगारी नभए पनि बाँच्न समस्या नहुने उनीहरुको बुझाइ छ । झापाको मेचीनगर, बाहुनडाँगी, शान्तिनगर, धाइजन, बुट्टाबारीलगायत स्थानमा बसोवास रहेको सो जाति लोपोन्मुख समुदायमा सूचीकृत छ । राज्यले लोप हुन लागेको जाति भनेर मासिकरूपमा सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । त्यही पैसा र दैनिक ज्याला मजदुरी गरेर उनीहरुले आफ्नो जीविका चलाउँदै आएका छन् ।
विसं २०६८ को जनगणनानुसार किसान समुदायको जनसंख्या एक हजार ९०० थियो । विसं २०७८ को जनगणनाको तथ्याङ्क सार्वजनिक नहुँदा उनीहरुको जनसंख्या बढेको छ या घटेको छ भन्ने यकिन हुन बाँकी नै छ ।