बैशाख ३०, २०८२ मंगलबार

गठबन्धनमा गोलमाल

सम्पादकीय
स्थानीय तह निर्वाचनका सन्दर्भमा सत्तारुढ दलहरुको केन्द्र स्तरमा सामान्य भद्रता देखिए पनि जिल्ला तहमा व्यापक उग्रता प्रदर्शन भएको छ । गठबन्धनबाटै निर्वाचनमा जाने कुरा कार्यकर्ताको हितमा नभएको पुष्टि भइसकेको छ । महिनौदेखिको छलफल मनोनयन दर्ताको अन्तिम दिनसम्म भागवण्डा टुङ्गो लाग्न नसक्दा दलहरु आपसी झैझगडामा उत्रिए । दलहरुबिच लामो छलफल हुँदा पनि स्वच्छ निकास आउन सकेन । समय घर्किने निश्चित भएपछि पेलपाल हिसावले उम्मेद्वार छनौट भयो । त्यसलाई कार्यकर्ताले सहजै स्वीकार गरेनन् ।

झापामा गठबन्धनले मनोनयनको अन्तिम दिन मात्रै उम्मेद्वार टुङ्गो लगाउन सफल भए । यसको अर्थ, दलहरु भित्र उम्मेद्वार चयन पनि निकै कठिनाई थियो । भागवण्डा मात्र होइन, उम्मेद्वार चयन साहै्र समस्या भयो । मेचीनगरमा नेपाली कांग्रेसको तर्फबाट मेयर पदमा केशव पाण्डे र इन्द्र बुढाथोकी बिचमा घम्साघम्सी भएको समाचार नै आयो । एकले अर्कालाई रोक्ने प्रयास केहि बेर चलिरह्यो । तनावको केहिबेरमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले ठाडो टिकट पठाइदिए । त्यसपछि मेचीनगरमा कांग्रेस सामसुम भयो ।

गठबन्धनले सबैलाई दुख भयो । गठबन्धनमा बस्ने दलहरुलाई भागवण्डा मिलाउन असाध्यै कठिन भयो । कठिनाईका बिचमा उम्मेद्वार मिलाउन गाह्रो भयो । समयमा उम्मेद्वार टुङ्गो लगाउन नसक्दा कार्यकर्तामा तिक्तता सिर्जना भएको छ । आम मतदाता गठबन्धनभित्र कुन मतदान चिन्हमा मत दिने भन्ने विषयमा अन्यौलमा परेका छन् । वास्तवमै गठबन्धन गरेर दलहरुलाई गोलमाल भएको अनुभव भएको छ । यसले कस्तो परिणाम देला ? यसका लागि बैशाख ३० गते पर्खनैपर्छ । गोलमाल गठबन्धनले नतिजा पनि गोलमाल नै ल्याउने हो कि भन्ने चिन्ता बढेर गएको छ । यसैले मतदाता यो संवेदनशिल समयमा सचेत पूर्वक मत दिन तयार हुनुपर्छ ।

प्रकाशित मिति : बैशाख १३, २०७९ मंगलबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]