घरदैलो अभियान
सम्पादकीय
देश अहिले चुनावमय भएको छ । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा विभिन्न दलहरु आफ्नो तयारी अनुसार घरदैलो अभियानमा जुटेका छन् । कतिपय दलहरु अभियानको तयारी गरिरहेका छन् भने कतिपय दलहरु अभियानमा जुटिसके । नेकपा एमालेले झापाका सबै पालिकामा घरदैलो अभियान शुरु गरिसकेको छ । राप्रपाले पनि अभियान थालिसकेको छ । बैशाख ११ र १२ गते दलहरुले मनोनयन दर्ता गरिसकेपछि उम्मेद्वारहरु मत माग्नलाई घरघर जान थालेका छन् ।
उम्मेद्वारहरु घरदैलो अभियानमा आफ्ना घोषणापत्र बोकेर आइरहेका छन् । स्थानीय चुनावमा घरघर आउने उम्मेद्वारहरुका घोषणा पत्रबारे सबै मतदातालाई जान्न पाउने हक छ । घरदैलो अभियानका क्रममा उम्मेद्वारहरुले घोषणा पत्रमा समेटिएका कार्यक्रमहरु आम मतदातालाई जानकारी गराउन आवश्यक छ । घोषणापत्रमा कतिपय महत्वकांक्षी योजनाहरु पनि समेटिएका हुन्छन् । त्यसका बारेमा आम मतदाताले प्रश्न उठाउनुपर्छ । घोषणापत्र मात्र होइन, अहिलेसम्मका कामलाई पनि मुल्याङकन गर्न आवश्यक छ ।
सबै राजनीतिक दलहरुले उठाएका उम्मेद्वारका सन्दर्भमा मतदाताले स्वतन्त्र रुपमा छनौट गर्न पाउने छन् । उम्मेद्वारको अनुशासन, यसअघि सामाजिक रुपमा गर्दै आएको योगदानका बारेमा पनि मतदाताले ख्याल गर्नैपर्छ । अर्को, महत्वपूर्ण विषय भनेको एजेण्डा विहीन समूह छ भने त्यसलाई अवसर प्रदान गर्न हुदैन । विचार, सिद्धान्त विनाको उम्मेद्वारहरु गलत स्वार्थ पुरा गर्न आइरहेको अनुभूति भएमा व्यापक प्रश्न उठाउन सक्नुपर्छ । चुनावी प्रतिष्पर्धामा ठुलो हुल बाँधेर घरदैलोमा आइरहेको छ भने यसअघिको काम, योगदान बारे प्रश्न उठाऔं । र, घरदैलोमा आउनेहरुलाई जनप्रतिनिधि भएर गर्नै योजनाबारे पनि सोधौं । त्यसपछि मात्रै विवेक प्रयोग गरौं ।