जेष्ठ २, २०८२ बिहीबार

गठबन्धनलाई झापामा एमालेले राम्रो ठेगान लगाउछ : ओली

बिर्तामोड । नेकपाका एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वडा तहसम्म एमालेसँग चुनाव लढ्न नसकेर कांग्रेस, माओवादीले गठबन्धन गरेको बताएका छन् । उनले वडाका उम्मेद्वारसँग पनि एक्लाएक्लै भिड्न सक्ने ल्याकत गठबन्धनसँग नभएको बताए ।

मंगलवार झापाको भद्रपुर, हल्दिवारीको गोल्धाप, धुलावारी र बिर्तामोडमा पार्टीको छुट्टाछुट्टै कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेको बलियो जनाधारका कारण वडासम्मै गठबन्धन गरेको बताए । अध्यक्ष ओलीले गठबन्धन गरे पनि एमालेसँग भिड्न सक्ने सामथ्र्य गठबन्धनसँग नभएको बताएका छन् ।

चुनावी अभियान सञ्चालन भइरहेको बेला झापा आएका अध्यक्ष ओलीले मुलुक दुई पार्टी सिस्टममा अघि बढेको बताए । उनले नीति सिद्धान्त भएको पार्टी एमाले एकातिर र नीति, सिद्धान्त, विचार केहि नभएको पार्टीहरुको गठबन्धन अर्कातिर भएको बताएका छन् । कुनै विचार सिद्धान्त नभएका दलहरु एक दल र एमाले एक्लै अर्को दल भएको स्पष्ट पारे ।
अध्यक्ष ओलीले ३० वर्षसम्म नभएको विकास एमाले नेतृत्वको सरकारले तीन वर्षमै गरेर देखाइदिएको बताएका छन् । उनले जनताको प्रिय पार्टी एमालेप्रति सबै विश्वास रहेको भन्दै हुलाकी मार्ग, भद्रपुर विमानस्थलको रात्रीकालिन उडान लगायतका जिल्लामा सयौं योजना पुरा गरेको सुनाए ।

कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने – झापाका हरेक गाउँ, नगरलाई आधुनिक र विकसित बनाउन एमालेलाई विजयी गराउनैपर्छ । एमालेले आफन्त, नातागोता नहेर्ने भन्दै जनताको दुखमा साथ दिने पार्टीलाई विजयी गराउन आग्रह गरे । उनले ०४८ देखि झापा लालकिल्ला भएको स्मरण गर्दै यो निर्वाचनमा पनि झापा लालकिल्ला हुने ठोकुवा गरेका छन् ।

बैशाख ३० गते हुने निर्वाचनमा देशमा भ्रष्टाचार नियन्त्रण गर्न , सुशासन कायम गर्न र विकास गर्न एमालेलाई जिताउनुको विकल्प नरहेको अध्यक्ष ओलीको भनाई थियो । गठबन्धनप्रति लक्षित गर्दै उनले संसारभर प्रतिपक्षीको विरुद्धमा गठबन्धन नहुने विचार व्यक्त गरेका छन् । उनले गठबन्धन गरे पनि एमालेले चुनावमा ठेगान लगाउने बताए । उनले झापाको उत्साह देखेर एमालेका उम्मेद्वारलाई औपचारिक रुपमा विजय घोषणा गर्न मात्रै बाँकी रहेको बताएका छन् ।

अनुचित, दुषित र उद्देश्यविहीन गठबन्धनलाई एमालेले बैशाख ३० गते ठेगान लगाउने भन्दै उनले निर्वाचनपछि एमालेले बहुमत ल्याउने बताएका छन् । उनले स्थितर सरकार र विकासका लागि बलियो एमालेको खाँचो रहेको भन्दै सुशासन र समाज रुपान्तरण गर्ने पार्टी एमाले भएको बताए ।

साढे ११ बजे भद्रपुर विमानस्थल ओर्लिएका ओलीले पहिलो सम्बोधन भद्रपुरको ज्ञानुचोकमा गरेका थिए । उनले भद्रपुरमा नगरबासीको चहाना अनुसार नै मेयर, उपमेयरको उम्मेद्वारहरु अघि सारिएको बताए । भद्रपुरका मेयरका उम्मेद्वार असारु राजवंशी सबैको चहाना भएको अध्यक्ष ओलीको भनाई थियो । राजवंशीबाट मात्रै भद्रपुरको विकास संभव देखेको बताए ।
यस्तै, दोस्रो सम्बोधन गोल्धापमा गरेका थिए । गोल्धाममा सम्बोधन गर्दै उनले हल्दिवारीको अध्यक्ष डम्बर गिरी र कार्यक्रम आयोजना गरिएको वडा नं. १ का वडाध्यक्षका उम्मेद्वार त्रिलोचन सापकोटालाई कसैले पराजित गर्न नसक्ने बताए ।

हल्दिवारीबासी नागरिकलाई उनले सुर्यमा मतदान गरेर विकास गर्ने पार्टी एमालेलाई विजयी गराउन आग्रह गरेका थिए । यसअघिका गल्ती नगर्न आग्रह गर्दै स्थानीयलाई सबै वडादेखि पालिका प्रमुखसम्म एमालेका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।

यस्तै, केन्द्रसम्म राम्रो सम्बन्ध रहेका एमालेबाट मेयरका उम्मेद्वार गोपालचन्द्र बुढाथोकीलाई मेचीनगरबासीले बैशाख ३० पछि मेयरको रुपमा पाउने निश्चित भइसकेको अध्यक्ष ओलीको भनाई थियो । उनले मेचीनगरबासीले एमालेप्रति देखाएको उत्साहले जीत निश्चित भएको बताए ।

मंगलवार चौथो कार्यक्रमका रुपमा उनले बिर्तामोडका कार्यकर्तालाई सम्बोधन गरेका थिए । बिर्तामोडमा सम्बोधन गर्दै अध्यक्ष ओलीले बिर्तामोडसहित झापामा एमालेले फेरि लालकिल्ला बनाउने घोषणा गरेका छन् । झापाली जनताले विगत देखि एमालेलाई दिएको साथ र मायाले लालकिल्ला बन्नेमा कुनै आशंका नभएको बताएका थिए । कार्यकर्ता भेलामा पार्टीका केन्द्रीय उपाध्यक्ष सुवास नेम्वाङ, स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेल र स्थानीय नेताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : बैशाख २०, २०७९ मंगलबार  १० : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]