कांग्रेस ‘जोगाउन’ गठबन्धन
टिप्पणी-
झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीवार चितवनको सभालाई सम्बोधन गर्दै भने, ‘हालिदैन हसिया हतौडामा भोट’ भन्नु भयो भने देश दुर्घटनामा जान्छ । जहाँ प्रचण्डको छोरी रेणु दाहाललाई मेयरको उम्मेद्वार बनाइएको छ ।
सत्तारुढ गठबन्धनले आयोजना गरेको सभामा प्रचण्डले आफ्नो छोरीले पराजय व्यहोर्नु परेमा देश दुर्घटनामा जाने संकेत गरे । उनको आसय अनुसार रेणुको जीतले मात्रै देश दुर्घटनाबाट जोगिन्छ भन्ने थियो । देशभरका सभाहरुमा बोल्दै आएका प्रचण्डले अन्य उम्मेद्वार जीत, हारले देश दुर्घटनामा जाने– नजाने बारे केहि बोलेका थिएनन् । आफ्नो छोरीको जीत–हार प्रतिष्ठासँग जोडेर गरेको सम्बोधन सिधैं गठबन्धनभित्रका दलहरुमाथि ठाडो धम्की थियो ।
गठबन्धनभित्रको मुख्य दल कांग्रेसमाथि नै प्रचण्डले हप्कीदप्की गरे । जहाँ कांग्रेसका सभापति शेर बहादुर देउवा पनि थिए । उनले सो सभामा मत माग्न फकाइफुलाई सम्बोधन गरेका थिए । प्रचण्डले आफ्नो छोरीलाई जिताएमा आफु निकै खुशी हुने अभिव्यक्ति दिए । कांग्रेसले मत नदिएको पराजित हुने निश्चित भएको ठाउँमा हसिया हतौडामा मत दिनैपर्ने प्रचण्डको धम्कीपूर्ण भाषणलाई कांग्रेसभित्रका इमान्तदार नेताहरुले पचाउन सकेनन् । त्यस अभिव्यक्तिका विरुद्ध आलोचना पनि भइरहेको छ ।
चितवनको भरतपुरलाई महत्व दिइएको गठबन्धनले आफ्नै पार्टीका पुराना नेताको स्वतन्त्र उम्मेद्वारीलाई ठुलो चुनौतिका रुपमा लिएको छ । जहाँ एमाले र राप्रपाको तालमेल पनि छ ।
सोही सभामा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले रेणुको आवश्यकताभन्दा धेरै प्रशंसा गरे । उनले काठमाडौंभन्दा भरतपुरको भाउ धेरै बढेको सम्म भन्न भ्याए । मानौं, देउवाले त्यो नभन्दा गठबन्धन नै टुट्ने हो कि भन्ने पीर बुझिन्थ्यो । सभापति देउवाले मेयरको उम्मेद्वार रेणुलाई नेपाली कांग्रेसका साथीहरुले कुनै शंका नहुने गरी सहयोग गर्न खुल्ला रुपमा आग्रह गरे । अर्थात, उनले कांग्रेस कार्यकर्तासँग रेणुलाई भोट मागे । उनले रेणुका कारण कालोपत्रे भएको, गल्ली–गल्लीमा कालोपत्रे भएको अभिव्यक्ति दिए । उनले विकासकै कारण भाउ बढेको दोहो¥याए ।
धर्मुस–सुन्तलीले थालेको रंगशाला समेत रेणु दाहालले नै बनाएको दावी गर्दै देउवाले भरतपुरमा अन्तराष्ट्रियस्तरको कन्फ्रेन्स हल बनाएको बताए । उनले यत्तिको काम गर्ने व्यक्ति नै नभएको ठोकुवा गरे । काम गरेकै कारण रेणुले चुनाव जित्ने बताएका देउवाले भने– गठबन्धन टुटेमा आफ्नो पार्टी नै खत्तम हुने चिन्ता व्यक्त गरे । देशको पुरानो र धेरै जनताले विश्वास गरेको कांग्रेस पार्टी माओवादी नेताको छोरीलाई विजयी नगराए खत्तम हुने नै हो त ? प्रश्न उब्जिएको छ, यति कमजोर भइसकेको हो कांग्रेस ?
देउवाले गठबन्धन फुटाउने षडयन्त्र भइरहेको चिन्ता समेत व्यक्त गरेका छन् । उनले चितवनमा आफ्ना कार्यकर्ताले भोट नहाल्लान कि भन्ने चिन्ताका कारण फकाउने हिसावले सम्बोधन गरेका थिएन भने प्रचण्डले थर्काएर सम्बोधन गरे ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाएर प्रधानमन्त्री बनाउन सहयोग गरे वापत देउवाले केहि ठाउँमा माओवादीसहित अन्य दलको सिट रक्षाका लागि गठबन्धन गरेको स्पष्ट छ । कांग्रेस एक्लै चुनावमा जान सक्ने पार्टी भए पनि माओवादी, नेकपा एस लगायतको लागि गठबन्धन गरिएको छ । तर, देउवाको भाषणले गठबन्धन कांग्रेस जोगाउन गरिए जस्तो अभिव्यक्ति दिन थालेका छन् ।