अर्जुनधाराका प्रभावित बस्तीहरुलाई सुरक्षित र व्यवस्थित बनाउने उद्घोष
अर्जुनधारा । नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरापालिकाका मेयर पदका उम्मेदवार बलदेव गोम्देन तामाङले मदन भण्डारी राजमार्गले भेट्ने बस्तीहरुलाई सुरक्षित र व्यवस्थित बनाइने बताएका छन् ।
अर्जुनधारा २ मा आयोजित चुनावी कोणसभा तथा घरदैलो कार्यक्रममा भोर्लेनी तथा खाल बस्तीका स्थानीय जनताले मदन भण्डारी राजमार्गका कारण आफुहरु बिस्थापित हुने अवस्था सिर्जना भएको गुनासो राखेपछि मेयर पदका उम्मेदवार गोम्देनले बस्तीलाई असर नपर्ने गरी राजमार्गको निर्माणका लागि आफुले पहल गर्ने बताए ।

उनले बन क्षेत्रसँग नजिक भएको बस्ती रहेकाले पनि बस्ती र बन दुवैको संरक्षण हुने गरी निर्माण आयोजनासँग समन्वय गरेर राजमार्गको निर्माण र व्यवस्थापन गर्ने कुरामा भुमिका खेल्ने बताए ।
निर्माणाधिन मदन भण्डारी राजमार्ग इलामको माई नगरपालिकाबाट अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडाको केहि स्थान हुँदै २ नम्बर वडाको भोर्लेनी, खाल, बेलटार, गाँजाबारी, राते बस्ती हुँदै इलामको रोङ गाउँपालिका प्रवेश गर्ने छ ।
आयोजना अन्र्तगत अहिले अर्जुनधाराको २ नम्बर वडाका टाङटिङ र गोयाङ नदिमा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
अर्जुनधारामा कृषिमा क्रान्ति गर्ने
गोम्देनले प्राबिधिक र प्रबिधिको अधिकतम प्रयोग गरेर अर्जुनधारामा कृषिमा क्रान्ति ल्याउने बताएका छन् ।
२ नम्बर वडामा मंगलवार आयोजित चुनावी घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार गोम्देनले कृषिको क्षेत्रमा प्रचुर सम्भावना भएको अर्जुनधारालाई कृषि क्रान्तिबाट समृद्ध बनाउन सकिने पर्याप्त आधारहरु रहेको बताए ।
उनले आफु नेतृत्वको टीम विजयी भए पश्चात कृषि क्षेत्रमा देखिएको सिँचाईको समस्यालाई पहिलो प्राथमिकता दिएर समाधान गर्ने बताएका छन् ।
निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापित गर्दै व्यवसायिक कृषिलाई जोड दिएर नगरपालिकाका हरेक कृषकहरुलाई स्थानीय सरकारले प्रबिधिमैत्री बनाउने आफुहरुको लक्ष्य रहेको बताएका छन् ।
संबोधनका क्रममा नगर प्रमुख पदका उम्मेदवार गोम्देनले जनताले राखेको बिभिन्न समस्या तथा गुनासोहरुको हल गर्ने प्रतिबद्धता जनाएका छन् ।