मतदाता सचेत बनौं
सम्पादकीय
मतदान गर्न अब २ दिन मात्र बाँकी छ । लामो प्रतिक्षाको घडी सकिन लागेको छ । मतदानको पूर्वसन्ध्यामा आयोगले मौन अवधि नै लागु गरिसकेको छ । उम्मेद्वारी दर्ता पश्चात मतदाताको घरघर पुगेका उम्मेद्वारहरु थकानमा छन् । तर, निर्वाचनको उत्साहले थकान मेटिएको छ । हरेक उम्मेद्वारलाई अब परिणामको पर्खाइ हुनेछ । दलहरु मौन अवधिमा पनि सकेसम्म मतदाता प्रभावित बनाउन उद्दत हुनेछन् । परम्परागत वेथिती अझै प्रयोग गर्नेछन् । यस तर्फ आम मतदाता सचेत हुन आवश्यक छ ।
निर्वाचनलाई कसैले पनि सामान्य लिनु हुदैन । किनभने, यो आम नागरिकको जीवनसँग जोडिएको छ । यदि उम्मेद्वार छनौटमा सानो त्रुटि भयो भने यसले हामीलाई पाँच वर्ष दुख मात्रै दिनेछ । यसैले आम नागरिकको सुख र खुशीका लागि मतदानमा विवेक पुराउनै पर्छ । यदि मतदानमा विवेक पुराउन सकिएन भने आफ्नो ठाउँको विकास प्रभावित हुनेछ । पाँच वर्षको समय बर्बाद हुनेछ । यसैले विकासप्रेमी उम्मेद्वारहरुलाई मतदान गर्नुको विकल्प छैन । विकासप्रेमीलाई मतदान गरियो भने मात्रै आउने सन्ततिले सुख पाउनेछन् ।
अहिलेको निर्वाचनमा एकातिर एमाले र अर्कातिर गठबन्धन निर्वाचनमा लढ्दैछन् । एमाले एक्लै बाँकी दलहरुसँग चुनावमा प्रतिष्पर्धा गर्दैछ । यो निर्वाचन विकास गर्ने र फोहोरी राजनीति गरेर देशलाई स्वार्थको भुमरीमा खेलाउने बिचको प्रतिष्पर्धा हो । कोहि विकास कटौती गर्ने छन् भने कोहि विकासको सपना देख्नेहरु छन् । यसको भिन्नता मतदाताले छुट्टाउनुपर्छ । मतदातालाई अहिले उम्मेद्वार र उम्मेद्वारका दलहरुले विभिन्न प्रलोभनमा पनि पार्न सक्नेछन् । ति सबै प्रलोभनमा पार्नेहरु देखि सावधान भएर समृद्धको खाका कोर्न सक्नेलाई मत दिऊ । पाँच वर्षको अवधिलाई आफ्नो तर्फबाट पनि फलदायी बनाउन सहयोग गरौं ।