मतदानमा अलमल नगरौं
सम्पादकीय
आज देशभर विहान ७ बजेदेखि मतदान शुरु हुँदैछ । मतदानको लामो पर्खाइ आजबाट अन्त्य हुदैछ । आजको मतदानले हाम्रो भाग्य र भविष्यको परीक्षा पनि लिने हो । सरकारले निर्वाचनको मिति तोकेदेखि उत्साहित मतदाताको मुख्य दिन नै आज हो । यसैले आजको दिनलाई कुनै पनि अलमलमा नपरी मतदान गरौं । मतदानमा सजिलो हुने गरी मत संकेत गरौं । मतदानमा विवेक पु¥याउन सक्यौ भने पक्कै पनि पाँच वर्षको लागि ढुक्क हुनेछ । नभए, पश्चाताप गर्नु बाहेक कुनै विकल्प हुने छैन । पश्चाताप नगर्नका लागि सहि मतदान गरौं । मतदानमा कसैको डरधम्की र लोभलालचामा नपरौं ।
राष्ट्र र राष्ट्रियताको सवालमा राजनीतिक दलहरुले लिएको अडान आम नागरिकलाई राम्रोसँग थाहा छ । दक्षिणपंथीको लहैलहैमा लागेर मुलुकलाई सर्वनास बनाउनेहरु एकातिर छन् भने अर्कातिर गुमेको भुभागलाई फिर्ता गराउने अठोट लिएर लागेको दल हाम्रै सामु छ । बुच्चे नक्सालाई चुच्चे नक्सामा रुपान्तरित गर्ने दलबारे आम नागरिकलाई राम्रो थाहा छ । यसैले सबै कुरालाई मध्यनजर गरेर मतदान गर्न आवश्यक छ । मतदानमा राष्ट्रियताको सवालमा पनि अवश्य सोच्नै पर्छ । राष्ट्र जोगाउनेको पक्षमा मत दिऊ भने मात्रै देश सुरक्षित हुनेछ ।
नेपालको लामो राजनीतिक इतिहास र आन्दोलनबारे नयाँ पुस्तासम्म थाहा छ । विभिन्न कालखण्ड र शासन नेपाली जनताले व्यहोर्दै आएको हो । जनताको बलबाट प्राप्त गणतन्त्र नेपालमा फेरि पनि पुरानो शासनलाई व्यूँत्याउने प्रयासहरु भइरहेका छन् । र, ति प्रयासलाई मलजल गर्नेहरु गणतन्त्रको पक्षधर भनिरहेका छन् । यसैले जनतामाथि शासन गर्ने चाहिएको होइन, जनताको शासन व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने जनप्रतिनिधि अहिलेको आवश्यकता हो । त्यस प्रकारको जनप्रतिनिधि छनौटमा आम मतदाताले ख्याल गरौं । हिंसाको बाटोबाट आएकाहरुबाट निर्वाचन सुरक्षा जोखिममा पर्न सक्छ । यसैले सुरक्षा प्रवन्धमा समेत ख्याल गरौं । अमुल्य मतको सदुपयोग गरौं ।