राप्रपाको गढ कचनकवलमा कांग्रेस–एमालेको अग्रता
बिर्तामोड । झापामा राप्रपाको मुख्य गढ मानिएको कचनकवल प्रारम्भिक मतपरिणामले कमजोर देखाएको छ । शुरुआतदेखि कचनकवलमा राप्रपा कांग्रेसभन्दा पछाडि छ । यसअघि राप्रपाले सो गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित बहुमत जितेको थियो ।

प्रारम्भिक मत परिणाम अनुसार अध्यक्षमा कांग्रेसका उम्मेद्वारले ३९७८ मत प्राप्त गरेका छन् भने राप्रपाका अध्यक्षका उम्मेद्वारले १४३३ मत प्राप्त गरे । यस्तै, उपाध्यक्षमा एमालेका उम्मेद्वारले १७१८ मत प्राप्त गरेका छन् भने राप्रपाको उम्मेद्वारले १६३३ मत ल्याएका छन् । माओवादीका अध्यक्षका उम्मेद्वार १३८ र उपाध्यक्षका उम्मेद्वारले ४९१ मत प्राप्त गरेका छन् ।
कचनकवलमा वडा नं. १ को परिणाम सार्वजनिक भइसकेको छ । वडा नं. २ मा मतगणना जारी रहेको अनेरास्ववियु झापाका अध्यक्ष रोशन लामाले जानकारी दिए । वडा नं. २ को १७९८ मतगणना सकिएको छ ।
सो गाउँपालिकामा कांग्रेस र एमालेले तालमेल गरेका छन् । तालमेलमा अध्यक्ष कांग्रेस र एमालेलाई उपाध्यक्ष दिइएको थियो ।
०७४ को निर्वाचनमा राप्रपाले झापाका तीन पालिका जितेको थियो । कचनकवलमा बहुमत जितेको राप्रपाले हल्दिवारी र गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष जितेको थियो । पछिल्लो समय राप्रपाको संगठनात्मक संरचनामा सुधार गर्दै अघि बढिरहे पनि गौरीगञ्ज र कचनकवलमा प्रारम्भिक परिणाममा राप्रपा कमजोर देखिएको छ । राप्रपाले झापामा मुख्य आशा गरेको गाउँपालिकामा कचनकवल पनि एक हो ।