वडाध्यक्ष वाग्लेद्वारा पदभार ग्रहण : अपाङ्गता र अति बिपन्न परिवारको स्वास्थ्य बीमा गर्ने निर्णय
बुद्धशान्ति। गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आएसँगै जनप्रतिनिधिहरुले पद सम्हाल्ने क्रम जारी छ।
बुद्धशान्तिमा सोमबार सम्पन्न सपथ ग्रहण समारोह लगत्तै वडा नम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आफ्नो पदभार सम्हालेका छन् । वडासचिव हरि प्रधानले वाग्ले र अन्य निर्वाचित प्रतिनिधिलाई स्वागत गरेका थिए। सो क्रममा शुभेच्छुकहरूको बाक्लो उपस्थिति थियो ।

नवनिर्वाचित अध्यक्ष वाग्लेले वडामा परेको एक निवेदनमा तोक लगाउँदै काम सुचारु भएको घोषणा गरेका थिए। वडामा रहेका अपाङ्गता भएका नागरिक र अति बिपन्न परिवारलाई छनौटका आधारमा स्वास्थ बीमा गर्नेगरी उनले निवेदनमा हस्ताक्षर गरेका हुन्।
उनले निर्वाचित प्रतिनिधि र कर्मचारीबिच समन्वय गरेर अघि बढ्ने बताए। वाग्लेसँगै सदस्यहरुमा तुलसा खतिवडा रेग्मी, लक्ष्मी कँडेल, मोहनकुमार राई, सुमित्रा रसाईलीले पनि कार्यभार जिम्मा लिएका छन्।