बैशाख २३, २०८२ मंगलबार

दलितका विषयलाई सञ्चारमाध्यमले पर्याप्त स्थान दिनुपर्ने

काठमाडौं । विभिन्न सङ्घसंस्थाले दलित समुदायका विषयलाई सञ्चारमाध्यमले पर्याप्त स्थान दिनुपर्ने माग गरेका छन् । प्रेस काउन्सिल नेपाल र क्रियाशील दलित पत्रकार सङ्घले यहाँ आज आयोजना गरेको ‘सञ्चारमाध्यममा दलित समुदायको मुद्दा’ विषयक अन्तक्र्रियामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले दलित समुदायका एजेण्डा घटना घटेपछि मात्र उठाउनेभन्दा पनि खोजेर सञ्चारमाध्यमले स्थान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले दलित समुदायका मुद्दा साझा मुद्दा भएको भन्दै यसमा प्रेस काउन्सिलले समुदाय र सञ्चार माध्यमलाई सचेत गराउँदै अगाडि बढ्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले समस्याको पहिचान गरी सञ्चारमाध्यम र पत्रकारले दलित समुदायको उत्थानका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले दलित समुदायका मुद्दालाई सञ्चारमाध्यमले निरन्तर स्थान दिनुपर्ने भन्दै पत्रकारको न्यूनतम पारिश्रमिकका विषयमा समिति गम्भीर रहेको बताउनुभयो ।

क्रियाशील दलित पत्रकार सङ्घका अध्यक्ष पवित्रा सुनार, नेपाल प्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेल, नेपाल टेलिभिजनका समाचार सम्पादक नीरज साउद, नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेल, विश्लेषक हिरा विश्वकर्मा, राजधानी दैनिकका सम्पादक सागर पण्डित, पत्रकार बाबुराम विश्वकर्मा लगायतले सञ्चारमाध्यमले दलित समुदायका मुद्दालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

अधिकारकर्मी सुशील विकले काउन्सिलले सञ्चार माध्यम र समाचार शाखा दलितमैत्री भएको÷नभएको अनुगमन गर्नुपर्ने बताउनुभयो । प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले काउन्सिलले समाचार कक्ष र प्रकाशित समाचार सामग्रीलाई दलितमैत्री बनाउन र समावेशीकरणका मुद्दालाई सञ्चारमाध्यमले महत्व दिए÷नदिएका विषयमा अनुगमन कार्यलाई प्रभावकारी बनाउने जानकारी दिनुभयो ।

प्रकाशित मिति : जेष्ठ १९, २०७९ बिहीबार  ७ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]