जेष्ठ ३, २०८२ शुक्रबार

बिर्तामोडले पाँच वर्षमा बाँढ्यो पाँच सय बाख्रा

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ८ मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहलाई बाख्रा वितरण गरेको छ ।

नगरको पशुपंछी तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम मेयर पकेट बाख्रा साटासाट अन्तर्गत शुक्रवार आयोजित एक कार्यक्रमका बिच १५ जना कृषकहरुलाई ३ वटाका दरले ४५ वटा र समुहलाई एउटा बोयर जातको विउ बोको वितरण गरिएको हो । कृषकहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला र नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले बाख्रा वितरण गरेका छन् ।

यसअघि बाख्रा प्राप्त गरेको वडा नम्बर ७ को श्रीजंघा बाख्रापालन कृषक समुह र हरियाली बाख्रापालन समुहले आफ्नो दायित्व अनुसार फिर्ता गरेको बाख्रा किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहका कृषकलाई वितरण गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले ग्रामीण क्षेत्रका किसानहरुको जिवनस्तर उकास्नका लागि यो कार्यक्रम ल्याइएको बताइन् ।

यस कार्यक्रमबाट धेरै कृषकहरुले लाभलिएको बताउँदै उनले कुनै पनि कारणले बाख्रा मरे त्यसको प्रमाणसहित पेश गर्दा नगरले अर्को बाख्रा उपलव्ध गराउने जानकारी दिइन् । यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरको कृषि तथा पशुपंछीसँग सम्बन्धित कार्यक्रमहरु महत्वपुर्ण र दीर्घकालिन रहेको बताएका छन् । उनले कृषकहरुलाई बाख्राका लागि पौष्टिक जातका घांसहरु लगाउन पनि आग्रह गरे ।

बिर्तामोड नगरपालिकाले २०७४ साल यता ५ सय वटा बाख्रा वितरण गरिसकेको पशुपंछी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्राकुमारी दाहालले जानकारी दिएकी छन् । उनले हालसम्ममा ४१ लाख रुपैयाँको १६५ वटा बाख्राको खोर निर्माण गरेको जानकारी दिइन् । किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहकी अध्यक्ष भावना ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समासेवी गोपाल लकान्द्री, प्राविधिक विष्णु भट्टराई, निमेश थापा लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : जेष्ठ २७, २०७९ शुक्रबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]