माइलाको उद्धारमा खटियो सेना
काठमाडौं । आज विहानदेखि नुवाकोटको ककनी गाउँपालिकामा त्रिशुली थ्री ए को प्रसारण लाइनमा झुण्डिएका व्यक्तिको उद्धार गर्न नेपाली सेनाको उद्धार टोली खटिएको छ ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार नेपाली सेनाको हेलिकप्टरले रेञ्जर गणको उद्धार टोलीलाई ककनी गाउँपालिका–७ मा छोडेर फर्केको छ । सेनाको टोलीले प्रसारण लाइनमा झुण्डिएर बसिरहेका बेलकोट गढी नगरपालिका–१२ का माइला विकलाई त्यहाँबाट उद्धारको तयारी गरेको छ ।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार नेपाली सेनाको उद्धार टोली विकको उद्धार गर्न प्रसारण लाइनको खम्बामा चढेका छन् ।
प्रसारण लाइनमा चढेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल विद्युत प्राधिकरणले सो प्रसारण लाइनमा विद्युत प्रवाह रोकेको छ । त्यसका लागि त्रिशुली थ्री ए र नजिकका अरु साना विद्युत गृहबाट उत्पादन बन्द गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।