प्रेस क्लब भद्रपुरको अध्यक्षमा शंकर निर्विरोध निर्वाचित
भद्रपुर । प्रेस क्लब भद्रपुरको अध्यक्षमा अग्रज पत्रकार राजबाबु शंकर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
भद्रपुर १० नम्बर वडा कार्यालयको सभाहलमा शनिवार सम्पन्न क्लबको १२ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले पत्रकार शंकर अध्यक्ष पदमा तीन वर्षीय कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् । शंकर साप्ताहिक समाचारका सम्पादक हुन् ।
त्यस्तै क्लबको उपाध्यक्षमा रोहित काफ्ले, महासचिवमा डिल्लीरमण नेपाल, सचिवमा द्रोण अधिकारी र कोषाध्यक्षमा इसा प्रधान निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरूमा विगम श्रेष्ठ, दीपेन्द्र कटुवाल, लक्ष्मी मिश्र र भेषराज नेपाल निर्वाचित भएको बन्द सत्रका संयोजक चिन्तामणि दाहालले जानकारी दिए ।
क्लबको पदाधिकारीमा आवश्यकभन्दा बढी सदस्यहरूले इच्छा जनाए पनि केही समयको आपसी छलफलबाट सर्वसम्मत नेतृत्व चयन गरिएको उनले बताए । बन्द सत्रमा क्लबका महासचिव उत्तम नेपालले साङ्गठनिक र सचिव पार्थ मण्डलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बहुमतले पारित गरिएको थियो ।
क्लबका अध्यक्ष गोविन्दचन्द्र क्षेत्रीको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको नगरभित्रका पत्रकारहरूको क्रियाशील संस्थाको प्रेस क्लबसँग सहकार्य गरी अघि बढ्ने बताए । नगरपालिकालाई सञ्चारमैत्री बनाउने प्रतिबद्धता जाहेर गर्दै उनले भने, ‘क्लबसँगै यहाँका सञ्चार संस्थाको विकास र प्रवद्र्धनका लागि नगरपालिका सधैँ हातेमालो गरी अघि बढ्ने छ ।’
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख राधा कार्की र भद्रपुर ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज), नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराई, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष शिवकुमार राजभण्डारीले प्रेस क्लबको स्तर वृद्धिका लागि आ–आफ्नो क्षेत्रबाट सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
क्लबका सल्लाहकार संयोजक चिन्तामणि दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा क्लबका अध्यक्ष क्षेत्रीले क्लब, सञ्चार संस्था र नगर क्षेत्रका पत्रकारहरूले भोग्नु परेका समस्याका बारेमा प्रस्ट पारेका थिए । कार्यक्रमको सञ्चालन महासचिव उत्तम नेपालले गरेका थिए ।