सहारा र ह्याविट्याटको सहयोगमा झापा गाउँपालिकामा बने ६ सय आवास
झापा । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजना अन्तरगत सहारा नेपाल, ह्याविट्याट नेपाल तथा झापा गाउँपालिकाको त्रिपक्षीय साझेदारीमा झापा गाउँपालिकामा छ सय तीन वटा आवास निर्माण भएका छन् ।
गाउँपालिकामा सन् २०१९ मा ७०, २०२० मा १ सय ३०, २०२१ मा १ सय १३, २०२१ मै एकसय १५ र २०२२ मा एकसय ७५ वटा घर निर्माण मध्ये केही सम्पन्न भइसकेको र केही निर्माणधिन रहेको आइतवार झापा गाउँपालिकास्थित कुमरखोदमा आयोजित अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको हो ।

सुरक्षित आवासका लागि पालिका स्तरीय परियोजना सल्लाहकार समितिको समन्वय तथा अन्तरक्रिया कार्यक्रममा सुरक्षित आवास कार्यक्रमका टिम लिडर टीका प्रसाद कँडेलले घर निर्माण सम्बन्धी तथ्याङ्कको बिवरण प्रस्तुत गरेका थिए ।
विपन्न बर्गका लागि सुरक्षित, बलियो र पर्यात आवास निर्माण गर्ने सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाको उदेश्य रहेको छ । परियोजनाले गरिबीको रेखामुनी रहेका अति विपन्न, गरिब, घरविहीन, सुकुम्बासी, पिछाडिएका, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका ब्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गर्दै आएको छ । कार्यक्रममा त्रिपक्षीय साझेदारीमा बनेका सुरक्षित आवासका बारेमा समेत जानकारी दिइएको थियो ।
कार्यक्रममा सन् २०१९ देखि हालसम्म झापा गाउँपालिकामा ६ सय ३ वटा घर निर्माण भएको टिम लिडर कँडेलले जानकारी गराएका थिए ।
गाउँपालिका अध्यक्ष जयनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा सहारा नेपालका संरक्षक डिल्लीराम सिटौला, ह्याविट्याट नेपालका सिनियर अप्रेशन मेनेजर रामसिंह दनुवारलगायतले आ–आफ्नो भनाई प्रस्तुत गरेका थिए भने स्वागत गाउँपालिकाकी उपाध्यक्ष मञ्जुदेबी थपलियाले गरेकी थिइन् । कार्यक्रममा ह्याविट्याट नेपालका सिनियर अप्रेशन मेनेजर दनुवारले ह्याविट्याट नेपालले विपन्न आवास निर्माण गर्दा नयाँ–नयाँ कार्यक्रम लिएर आएको बताए । अहिले आवाससँगै शौचालय समेत निर्माण गर्ने अभियान लिएको बताउँदै अझै नयाँ केही गर्ने योजना रहेको जानकारी दिए ।
कार्यक्रममा वडा नम्बर १ र ७ वडाध्यक्ष राजकुमार यादव र सखीचन्द्र ठाकुरले विपन्न आवास निर्माण गर्न आफ्नो वडामा अझै धेरै विपन्न भएको बताएका छन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष साहले विपन्नको आवास निर्माणमा संस्थाहरुको सहयोगको प्रशंसा गरे । गाउँपालिकाले नेपाल सरकारसँग पहल गरेर एक वटा आवास निर्माण गर्नका लागि सशर्त अनुदान समेत प्राप्त गरेको जानकारी दिए । उनले नेपाल सरकारको अनुदान मात्र प्रयाप्त नहुने धेरै भन्दा धेरै आवास निर्माण गर्नु पर्ने बताउँदै सहारा नेपाल र ह्याविट्याट नेपाल र गाउँपालिकाको त्रिपक्षीय साझेदारी गर्दै आवास निर्माण गरिने बताए ।
सन् २००७ देखि ह्याविट्याट नेपाल र सहारा नेपालले साझेदारीमा काम गर्दै आएको सहारा नेपालका लेखा अधिकृत राजु गिरीले बताए । उनले झापा, मोरङ, सुनसरी र उदयपुरमा साझेदारीमा परियोजनाले आवास निर्माण गर्दै गरेको बताएका छन् ।