बिराजको लिफ आर्टको माग विदेशसम्म
प्रदीप परियार
बिर्तामोड । झापा गौरादह कृषि क्याम्पसका विधार्थी बिराज भण्डारीलाई पढाईसँगै चित्रकलाको चाप छ । जुम्लाको चन्दननाथ नगरपालिका– २ घर भएका भण्डारी लकडाउनअघि पेन्सिल आर्ट गर्थे । लकडाउनपछि पातमा चित्र (लिफ आर्ट) कोर्न थालेका भण्डारीलाई अहिले विदेश देखि पनि माग आउन थालेको छ ।
कोरोना महामारीका बेला घर गएका उनले टिकटकमा एक जना भारतीयले लिफ आर्ट गरेको देखे । टिकटकमा देखेको आर्ट अभ्यास गर्दै जाँदा अहिले उनी व्यवसायिक नै भइसकेका छन् । कोरोना महामारीका कारण क्याम्पस बन्द भएपछि त्यो समयमा नयाँ काम गर्ने सोच आयो । नयाँ सोच कै कारण लिफ आर्टमा अभ्यास गरेका भण्डारी अहिले व्यवसायिक रुपमा चित्र बनाउन थालेका छन् ।

पेन्सिल आर्टको अनलाईन प्रतियोगितामा सहभागी भई बिजेता भएका उनले केहि महिनाको अभ्यासपछि सोचे जस्तो चित्र बनाउन थाले । देशमा चुच्चे नक्साको बहस तातिरहेको बेला उनले लिपुलेक सहितको नेपालको नक्सा बनाएर सामाजिक सञ्जालमा राखे । सामाजिक सञ्जालमा उनले राखेको लिपुलेकसहितको चित्रले सर्वत्र चर्चा कमायो । त्यसैको प्रेरणाले निरन्तर लिफ आर्ट गरिरहेका बिराज अहिले त्यसैबाट राम्रो आम्दानी गर्न थालेका छन् ।

बिराज भन्छन्, अहिले अध्ययनका लागि घरबाट खर्च पठाइरहन पर्दैन । अध्ययन खर्च, खान, बस्न र आधारभुत आवश्यकताका लागि लिफ आर्टले नै धानिरहेको छ । २३ वर्षीय भण्डारीले भर्खरै विभिन्न देशबाट माग भएका आर्ट बनाएर पठाइसके । अहिले पनि अष्ट्रेलियाबाट अर्डर आएको उनको भनाई छ । एउटा आर्ट तयार गर्न कम्तिमा ३-४ घण्टा समय लाग्छ । अध्ययनको समयलाई व्यवस्थापन गरेर उनी लिफ आर्ट तयार गर्ने गरेको बताउँछन् ।

मासिक १५ देखि २० वटासम्म लिफ आर्ट तयार गरिरहेका बिराजले न्यूनतम १३ सय देखि २ हजार रुपैयाँसम्म लिने गरेका छन् । उनले जनावर, विभिन्न विभुति र व्यक्तिहरुको आर्ट गरिरहेका छन् । पिपलको पातमा गरिने आर्टमा ब्लेडको सहारा लिने गरिन्छ । उनले क्याम्पस आसपासको पिपलका पातहरु प्रयोग गर्दै आइरहेका छन् । ‘नजिकका रुखमा आर्ट गर्ने पात लगभग सकेको छु, अहिले २ किमि टाढाबाट पात ल्याएर आर्ट गर्दैछु’ उनले भने । शुरुशुरुमा एउटा पातमा एक जना व्यक्तिको आर्ट गर्थे, अहिले ५ जनासम्मको एउटै पातमा गर्न थालेको उनको भनाई छ ।
कृषि विषयमा स्नातक तह अध्ययनरत भण्डारीले लकडाउनको उपलब्धिका रुपमा लिफ आर्ट लिएका छन् । लिफ आर्ट अधिकांशले रुचाएका कारण यसैलाई निरन्तरता दिइरहेको बताए । उनको लिफ आर्ट देखेर चन्दननाथ नगरपालिका, उनले अध्ययन गरेको विधालयले सम्मान नै गरिसकेको छ । कतिपय विधालयहरुले विधार्थीलाई सिकाउन पनि बोलाइरहेका छन् ।