विधार्थीको सिर्जना
सम्पादकीय
अभिभावकहरु आफ्नो सन्तान अध्ययनमा सबैभन्दा अब्बल हुन भन्ने चहान्छन् । अध्ययनमा मात्र होइन, सामाजिक चेतनाका हिसावले पनि अगाडि हुन् भन्ने सबैको चहाना हुन्छ । सँगै रचनात्मक क्रियाकलापमा पनि आफ्ना सन्तान अगाडि बढुन् भन्ने चहाना स्वभाविक हो । विधालयको पाठ्यक्रमसँगै नैतिक शिक्षामा विधार्थी अगाडि बढुन् भन्ने चहाना हुन्छ । पछिल्लो समय बालबालिकाहरुमा पढाई बाहेक कमै मात्रमा रचनात्मक क्रियाकलाप हुन्छ भन्ने सोच छ । तर, कतिपय विधालयका बालबालिकाहरुको रचना प्रशंसायोग्य छ । भर्खरै बिर्तामोडको शिक्षा शाखाले आयोजना गरेको बौद्धिक प्रतिभा प्रदर्शनीमा विधार्थीले देखाएको प्रदर्शनले अहिलेका विधार्थी सिर्जनामा अब्बल भएको स्पष्ट हुन्छ ।
झापाको गौरादहमा रहेको गौरादह कृषि क्याम्पसका विधार्थी विराज भण्डारी एउटा उदाहरणीय पात्र हुन् । उनले कोरोना महामारीको समयमा आफुलाई नयाँ काममा सक्रिय बनाइदिए । सामाजिक सञ्जालमा देखेको एउटा सिर्जनालाई अभ्यास गरेका भण्डारीको कला अहिले राष्ट्रिय हुँदै अन्तराष्ट्रियस्तरमा चर्चा कमाइरहेको छ । चर्चासँगै उनले आम्दानी समेत शुरु गरेका छन् । कोरोना महामारीमा सिकेको लिफ आर्टलाई निरन्तरता दिए । उनको त्यो संकल्पले व्यवसायिक नै बनाएको छ ।
तुलानात्मक हिसावले सामुदायिक भन्दा निजी विधालयका विधार्थी रचनात्मक क्रियाकलापहरु सक्रिय हुने गरेका छन् । निजीमा विधार्थीप्रति शिक्षक कर्मचारी असाध्यै धेरै जिम्मेवार हुन्छन् । तर, पछिल्लो समयमा सामुदायिक विधालयहरु पनि रचनात्मक क्रियाकलापमा सक्रिय भएका छन् । गौरादहका विधार्थी विराज भण्डारीले अध्ययन मै सिकेको सिर्जना अहिले उनको लागि आम्दानीको स्रोत भएको छ । यसैले विधार्थीलाई अध्ययन कै क्रममा स्वरोजगार बन्नका लागि प्रोत्साहित गर्नुपर्छ ।