जेष्ठ ६, २०८२ सोमबार

वैदेशिक रोजगार : आर्थिक सहायताका लागि पालिकाबाटै आवेदन दिन सक्ने

बिर्तामोड । वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायतासहित विभिन्न सेवाका लागि अब स्थानीय तहबाटै आवेदन दिन पाइने भएको छ । बोर्डले नयाँ सफ्टवेयर (FEWMIS) सञ्चालनमा ल्याएसँगै झापामा ५ वटा पालिकाले सो सेवा प्रदान गर्ने भएका छन् ।

झापाको बिर्तामोड, शिवसताक्षी, कमल, गौरादह र दमकले सो सेवा प्रदान गर्न शुरु गरेका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका व्यक्तिले कामको शिलशिलामा ज्यान गुमाए वा अंगभंग भएमा पाइने सुविधा पालिकाबाटै प्रक्रिया अघि बढाउन पाइने बिर्तामोडमा फोकल पर्सन होमनाथ भट्टराईले जानकारी दिए । उनका अनुसार पालिकामा रहेको रोजगार सेवा केन्द्रबाटै सो प्रक्रिया अघि बढाउन पाइनेछ ।

आर्थिक सहायता, छात्रवृत्ति र स्वास्थ्य कार्यक्रमका लागि पालिकाबाटै आवश्यक प्रक्रिया अघि बढाउन पाइने भट्टराईले जानकारी दिएका हुन् । उनका अनुसार यसअघि वैदेशिक रोजगार बोर्ड काठमाडौं नै जानुपर्ने बाध्यता थियो । अब प्रक्रिया शुरु गरेपछि के काम भइरहेको छ भन्ने बारे पालिकाबाटै थाहा हुने छ ।

वैदेशिक रोजगारमा जाने व्यक्ति कुनै दुर्घटनामा मृत्यू भएमा नगरपालिकाबाट हुने प्रक्रियाबाटै परिवारको खातामा रकम जम्मा हुने छ । बोर्डले ७ लाख र बीमा वापतको १४ लाख गरेर २१ लाख रुपैयाँ परिवारकै खातामा जम्मा हुने उनको भनाई छ । बैदेशिक रोजगारको शिलशिलामा मृत्यू भएमा वा वैदेशिक रोजगारीबाट फर्किएको १ वर्ष भित्र मृत्यु भएमा सो सुविधा प्राप्त हुने छ । यस्तै, विदेशबाट घरसम्म शव ल्याउन पनि नगरकै दिएको आवेदनबाट प्रक्रिया अघि बढ्ने छ । घरसम्म शव ल्याउन निशुल्क सुविधा पाइने छ ।

बोर्ड मार्फत पाइने छात्रवृत्ति कार्यक्रममा कक्षा १–८ सम्मका विधार्थीले वार्षिक ८ हजार र कक्षा ९ –१२ का विधार्थीले वार्षिक १२ हजार रुपैयाँ पाउने छन् । छात्रवृत्तिक पाउनका लागि परिवारबाट अभिभावक वैदेशिक रोजगारीमा गएको हुनुपर्ने छ ।
बिर्तामोडका फोकल पर्सन भट्टराईले स्वास्थ्य कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीमा गएका व्यक्तिको परिवारमा सदस्यले एक पटक गम्भीर प्रकृतिको रोगको उपचारका लागि ५० हजार सुविधा पाउने जानकारी दिए । उनका अनुसार बिर्तामोडका रित बहादुर मगरको शव झिकाइएको छ । मगरको दुवईमा मृत्यु भएको थियोे । यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका दुर्गा प्रसाद शिलवालको घर मै मृत्य भएको थियो । उनको परिवारले पनि आर्थिक सहायता पाइसकेको भट्टराईले जानकारी दिए ।

फोकल पर्सन भट्टराईले वैदेशिक रोजगारीमा क्रममा दुर्घटना भएका परिवारले पालिकाबाटै सेवा प्राप्त गर्ने जानकारी दिए । उनले सो सुविधाका लागि काठमाडौं जानुनपर्ने बताएका छन् ।
वैदेशिक रोजगार बोर्डले आवश्यक कागजात पुरा गरेर स्थानीय तहबाटै आवेदन दिन सकिने सूचना नै जारी गरिसकेको छ ।

प्रकाशित मिति : असार २९, २०७९ बुधबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]