जेष्ठ ७, २०८२ मंगलबार

बिर्तामोडमा ज्ञानेन्द्र सेक्युरिटीको अवैध वैदेशिक रोजगारी धन्दा, बुबाको शव लिएर फर्किइन् छोरी

बिर्तामोड । झापाको बिर्तामोड– १ मा रहेको ज्ञानेन्द्र सेक्युरिटी सर्भिसले आफ्नो क्षेत्रधिकार बारिह गएर अवैध रुपमा वैदेशिक रोजगारीको काम गरिरहेको पाइएको छ । सेक्युरिटी गार्डको तालिमहरु सञ्चालन गर्ने कम्पनीले अवैध रुपमा वैदेशिक रोजगारीको काम गरेका कारण एउटा विपन्न परिवारले मानवीय र आर्थिक रुपमा ठुलो क्षति व्यहोर्नु परेको छ ।

गत माघ महिनामा नातामा सानिमा सासु पर्ने साधना सुब्बाले अर्जुनधारा – ४ कि २१ वर्षीया बन्दना दर्जीलाई सो सेक्युरिटी सर्भिसमा सम्पर्क गराएकी थिइन् । सुब्बा सोही कार्यालयको कर्मचारी समेत हुन् ।

सेक्युरिटी गार्डको तालिम सञ्चालन गर्ने भन्दै इजाजत लिएको ज्ञानेन्द्र सेक्युरिटी सर्भिसले दर्जीलाई दुई लाखमा दुवई पठाइदिने बताएपछि उनले प्रक्रिया अघि बढाएकी थिइन् । सानिमा सासुको विश्वासले प्रक्रिया अघि बढाएको बताउने दर्जीले काठमाडौंबाट बुबा टंक बहादुर लावरको शव लिएर फर्किनु प¥र्यो ।

ज्ञानेन्द्रका सञ्चालक ज्ञानी बोहराले दुवईका लागि जेठ ३१ गते मंगलवारको टिकट भएको बताएपछि दर्जी र उनको बुबा २८ गते शनिवार नै काठमाडौं गएका थिए । २ लाखमा क्यारिफोर कम्पनीमा काम लगाइदिने, झापाबाट काठमाडौं भाडा, खानबस्नको सुविधा दिने भनेका सञ्चालक बोहरा नै ३१ गते काठमाडौं पुगेका थिए । उनले दर्जी बाबुछोरीलाई २९ गते अन्य महिलाहरुलाई लिएर आउने भनेका थिए ।

काठमाडौं पुगेपछि बोहराले भनेको कावेली मेनपावरमा पुग्दा बन्दना दर्जीका बारेमा सो मेनपावरले कुनै पनि जानकारी नभएको बताएपछि उनीहरु निराश भएका थिए । तीनदिनसम्म काठमाडौं भौतारिएका बाबुछोरी मेनपावर नभेटिएपछि आफुहरु दलालीको फन्दामा परेको थाहा पाए ।

३१ गते विहान सुतेकै ठाउँमा बन्दनाले बुबाको शव भेटिन् । उनले बुबालाई तनाव कै कारण घटना भएको दावी गरेकी छन् । बन्दनाले भनिन्, ‘हामीले २ लाख ऋण लिएका थियौं । मेनपावर पनि नभेटिएपछि ठगीमा परियो भन्दै बुबा चिन्तित हुनु भएको थियो । हाम्रो लागि २ लाख धेरै नै ठुलो पैसा हो । बुबा त्यो रात धेरै रोएर सुत्नु भएको थियो ।’

बुबाको मृत्यु भएको दिन नै ज्ञानेन्द्र सेक्युरिटी सर्भिसका सञ्चालक बोहराले आफुले काठमाडौं जान नभनेको भन्दै जिद्दि गरेका थिए । जब, बन्दनाको बुबा गुमेको खवर बोहराको कानमा पर्यो तब उनले सोही दिन उडाउने टिकट तयारी गरेको सुनाए । घटना भएपछि बन्दनाले बुबाको शव काठमाडौंबाट घर ल्याई परिवारले काजक्रिया गरिसकेका छन् ।

बिर्तामोडमा हँुदै सेक्युरिटी सर्भिसका सञ्चालक बोहराले बन्दनाको बुबाबाट ८० हजार लिएको प्रमाण फेला परेको छ । उनले आफ्नै कम्पनीको भरपाई मार्फत रकम बुझिलिएका छन् । अवैध रुपमा वैदेशिक रोजगारीको काम भित्रभित्रै गरिरहेका उनले बन्दनालाई सहयोग मात्रै गरेको दावी गर्दै आएका छन् । उनले भने, उनको सानिमाले विदेश पठाइदिनु भनेपछि मैले सहयोग मात्रै गरेको हो । तर, बोहरा आफैले आफ्नै कम्पनीको भरपाईमा रकम बुझ्नुले उनको अवैध काम प्रष्ट भएको छ ।

बन्दनाका आफन्तको पहलमा बोहराले असार २८ गते ७५ हजार रकम फिर्ता गरेका छन् । पीडित परिवारले काठमाडौंबाट बुबाको शव ल्याउन लागेको खर्च सहित १ लाख ५० हजार खर्च भइसकेको बताएका छन् । पीडित परिवारले अवैध काम गर्ने ठाउँमा सम्पर्क गराउने सानिमा सासु साधना सुब्बाले बाँकी रकम व्यहोर्नु पर्ने माग गरेका छन् । ७५ हजार फिर्ता लिएपछि सानिमा सासु सुब्बाले विभिन्न धम्की दिदैं जातीय विभेदपूर्ण व्यवहार गरिरहेको बन्दनाको परिवारले जनाएको छ । दर्जी परिवारले छोरीलाई रोजगारीमा पठाएर आर्थिक सहायत खोजी रहेको बेला घरमुलीकै ज्यान गएको छ । यहि बेलामा अवैध काम गर्ने ठाउँमा सम्पर्क गराउने सानिमाले मानसिक रुपमा यातना दिइरहेको परिवारको दावी छ ।

सामाजिक सञ्जालमा लेखिएका विभेदपूर्ण अभिव्यक्ति र ठगी बारे परिवार न्यायका लागि प्रहरी समक्ष पुगेका छन् ।

प्रकाशित मिति : असार ३०, २०७९ बिहीबार  ८ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]