भुक्तानी रोकेपछि विएण्डसीले रोक्यो बीमाको उपचार : दैनिक १५ सय विरामी प्रभावित
बिर्तामोड । सरकारले स्वास्थ्य बीमाको करोडौं रकम भुक्तानी नदिएपछि प्रदेश नं १ का तीनवटा ठूला अस्पतालले आज देखि स्वास्थ्य विमा कार्यक्रम बन्द गरेका छन् ।
झापाको बि एण्ड सी अस्पताल, विराटनगरको नोबेल अस्पताल र विराट अस्पतालले बीमा सुविधा बन्द गरेका हुन् । बीमा सुविधा बन्द गर्दा उपचारमा आउने हजारौं विरामी समस्यामा परेका छन् ।

बिर्तामोडमा रहेको विएण्डसी अस्पतालमा झापा, इलाम, पाँचथर,ताप्लेजुङ र मोरङका केहि ठाउँबाट उपचारका लागि विरामीहरु आउने गर्थे । बीमा उपचारका लागि विएण्डसीमा मात्रै दैनिक १५ सय विरामी आउने गरेको जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । उनका अनुसार अब बीमा सुविधा वापतको उपचार सेवा बन्द हुँदा दैनिक १५ सय विरामी प्रभावित हुनेछन् ।
दुई साता अघि अस्पतालका सञ्चालकहरुले पत्रकार सम्मेलन गरेर जानकारी दिए अनुसार नोबेलको ५५ करोड, विराटको ४६ करोड र वि एण्ड सीको ४४ करोड रुपैंया भुक्तानी दिन बाँकी छ ।
वि एण्ड सी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीका अनुसार सरकारले ठूलो रकम भुक्तानी गर्न बाँकी रहेको, भुक्तानीका लागि पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएपछि बीमा सेवा बन्द गरिएको हो । यसबाट विरामी महानुभावहरुमा परेको असुविधाले अस्पताल दुःखी रहेको गिरीले बताए । स्वास्थ्य बीमा बोर्डले आफूहरुको बक्यौता रकम भुक्तानी गर्नासाथ सेवा निरन्तर हुने गिरीको भनाइ छ ।
साउन १ गतेबाट सरकारी तथा सामुदायिक स्वास्थ्य सेवा प्रदायक संस्थामा उपचार गराए मात्र बीमा रकम भुक्तानी हुने सरकारको बजेट भाषणमा उल्लेख थियो । यसले गर्दा विमा रकम पाइने नपाइने भन्ने पनि दोधार भएको अस्पताल सञ्चालकहरुले बताएका छन् ।
महिनौं सम्म उपचारको ठूलो रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा असर पुगेको उनीहरुको भनाइ छ । थप औषधी किन्न,स्वास्थ्यकर्मीको तलव भुक्तानी गर्न र अन्य खर्च धान्न मुस्किल परेको सञ्चालकहरुको गुनासो छ ।
प्राइभेट अस्पतालको खर्चमा सरकारको शाख जोगाइदिनु पर्ने बाध्यता आफूहरुलाई नभएको वि एण्ड सीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंको भनाइ छ । सरकारले बीमा सुविधा दिएको छ भन्दै सिफारिस बोकेर आएका न्यून आय भएका सयौं विमारी अलपत्र परेको प्रसाईंको भनाई छ । बीमा बोर्ड र सरकारसँग अहिलेसम्म्को बक्यौता उठाएपछि दोस्रो चरणमा बीमा कार्यक्रमलाई निरन्तरता दिने नदिने छलफल हुने प्रसाईको भनाइ छ । अहिलेलाई हामीले बीमा सुविधा स्थगन गरेका छौ प्रसाईले भने ।