जेष्ठ ७, २०८२ मंगलबार

अब निजी अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार नहुने

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएको छ । आर्थिक वर्ष २०७९-८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख छ ।

बजेट कार्यक्रम अनुसार नै सरकार अगाडि बढ्ने निश्चित भएपछि निजी मेडिकल कलेज र अस्पतालहरुले सूचना जारी गर्दै बीमा कार्यक्रम बन्द भएको जानकारी दिएका छन् ।

स्वास्थ्य बीमा गरेका बिरामीको उपचारका क्रममा निजी अस्पतालले मनपरी शुल्क लिन थालेको भन्दै सरकारी र सामुदायिक अस्पतालले मात्र बीमा मार्फत सेवा दिने व्यवस्था गरिएको हो । स्वास्थ्य बीमा बोर्डका अध्यक्ष दामोदर बसौला यसमा सरकारको निर्णय नै अन्तिम निर्णय भएको बताउँछन् । ‘यसमा बोर्डले केही गर्न सक्दैन । सरकारले जे निर्णय गर्छ त्यो नै अन्तिम निर्णय हो,’ बसौलाले भने ।

हालसम्म निजी, सामुदायिक र सरकारी गरी ४४१ स्वास्थ्य संस्था बीमा कार्यक्रममा आवद्ध थिए । जसमध्ये ५२ वटा स्वास्थ्य संस्था निजी अस्पताल मात्र छन् । केही निजी अस्पतालहरूले आइतबार नै विज्ञप्ति सार्वजनिक गरेर अब बीमा कार्यक्रम अन्तर्गत सेवा नदिने जनाएका छन् । स्वास्थ्य बीमा कार्यक्रमको लागि सरकारले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको छ ।

प्रकाशित मिति : श्रावण ३, २०७९ मंगलबार  ७ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]