दुर्गा प्रसाईको पहलमा दुवईमा अलपत्र युवतीको शव परिवारलाई बुझाइयो
बिर्तामोड । गल्फमा भएका नेपालीको शव निजी खर्चमा ल्याएर परिवारलाई जिम्मा लगाउने घोषणा गरेका दुर्गा प्रसाईंको पहलमा मंगलवार एक युवतीको शव नेपाल ल्याइएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीया सुकमाया रानाको शव दुबईबाट नेपाल ल्याइएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडका कार्यकारी निर्देशक एवं नेकपा एमालेका केन्द्रीय सदस्य प्रसाईंको खर्चमा उक्त शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको छ ।

रानाका आफन्त चेतन गुरुङले शव बुझेर आफूहरुले खर्च र कानूनी कारणले दुई महिना देखि नेपाल ल्याउन नसकेको जानकारी दिए । ‘१० दिन जतिअघि एउटा पत्रिकामा दुर्गा प्रसाईंले दुबईमा मृत्यू भएका मान्छेका शव नेपाल ल्याइदिने भन्ने समाचार देखेर हामीले फोन ग¥यौं’ गुरुङले पत्रकारहरुसँग भने, ‘उहाँले म ल्याइदिन्छु भनेपछि भेटघाट गरें । सबै खर्च व्यहोरेर उहाँले शव ल्याइदिनुभयो । सरकारले गर्ने काम एकजना व्यक्तिले गर्नुभयो । यसका लागि उहाँलाई धन्यवाद भन्छु ।’
प्रसाईंले अर्को हप्ता चारवटा शव ल्याएर आफन्तलाई बुझाउने तयारी गरेका छन् । ‘सरकारले स्वदेश मै रोजगारी सृजना गरेर युवाहरुको वैदेशिक गमन रोक्न त सकेन नै पराई देशमा गए अकालमा ज्यान गुमाएका युवाको लास परिवारलाई दिन पनि सकेन’ प्रसाईंले भने – ‘मानवीय हिसाबले मैले ति परिवारको पीडामा मैले मल्हम लगाउन खोजेको हुँ ।’
दुईसाता अघि दुबईका राजकुमारको निमन्त्रणामा त्यहाँ गएका प्रसाईले आफन्तले लैजान नसकेका नेपालीका शब आफूले लगिदिने प्रतिवद्धता जनाएका थिए । उनले हालसम्म परिवारले सम्पर्क गरेका आधारमा १६ जना नेपालीको शब नेपाल ल्याएर आफन्तलाई बुझाउने जनाएका छन् ।