मिटरव्याजीले आत्महत्या गर्ने ठाउँमा पुर्याइसके : पीडित
बिर्तामोड । झापामा जुवा खेलाउने र सोहि समुुहले चर्को मिटर ब्याजमा पैसा लगाउने गरेको रहस्य बाहिर आएको छ । जुवा खेलाउने समुुहले आफै उस्काउने र महगो मिटर ब्याजमा पैसा लगानी गरि चेक काट्न लगाई चेक बाउन्स गर्नुका साथै पैसा असुल्नका लागि मानिसलाई अपहरण कुटपिट समेत गर्ने गरेको पाईएको छ । सो कार्यमा प्रहरीले समेत सहयोग गर्ने गरेको पाइएको छ ।
झापा गाउँपालिका –३ सिमलवाडीका ४० बर्षीय युवा अशोक राईलाई चेक बाउन्सको मुुद्धा लिएर प्रहरी र बाउन्स गराउने समुह नै घरमा राईलाई पक्रन आएपछि गाउँलेसँग झडप समेत भएको थियो । झडपपछि पक्राउ गर्न आउने दमक –५ का विशाल पौडेल सामान्य घाइते समेत बनेका छन् ।

सिभिलमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव निरीक्षक भीम श्रेष्ठ नेतृत्वको टोली र रकम लिने समुह शनिवार विहान राईको घरमा विहान ४ बजेको समय आएर जवरजस्ती राईलाई लैजान खोजेपछि घर परिवार र स्थानीयबासीले प्रतिकार गरेको राईका बुबा दिपक राईले बताए ।
दमकका नामुक जुुवा घरका संचालक समेत रहेका पुुर्णप्रसाद रिजालले आफुलाई घरमा जुवा खेल्न बोलाई केहि पैसा सापट दिएको र पछि मिटर व्याज जोडेर आफुले साँबा र ब्याज रकम तिरिसक्दा समेत थप ८ लाख रुपैँयाको चेक दमकको होटल हाइवेमा लगेर काट्न लगाएको पीडित अशोक राईले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिए ।
रिजालको समुहले पहिला पिटेर कानको जाली समेत फुुटाइदिएको र पछि जबरजस्ती ८ लाखको चेकमा सहि छाप गर्न लगाएको समेत राईले बताए । जुुवा संचालकहरुको कुुटपिटबाट विरामी भएकोले घरमै औषधि गरेर बसिरहेको वेलामा तिरिसकेको रमकको समेत चेक बाउन्स गरेर प्रहरी समेतलाई आर्थिक प्रभावमा पारी राती घरमै नियन्त्रणका लागि आएको राईकी श्रीमती कमला लिम्बुले बताइन् ।
दमकका रिजाल लगायत सोम खनाल, कमल खनाल, दुुर्गा पौडेल लगायातले खेलाएको जुवा खालबाट आफुले ३ बर्षभित्रमा ५ करोड भन्दा बढी रकम सकाएको राईले बताए । आफुले यस विचमा दमकमा रहेको घर डेढ करोडमा विक्री गरेको र कनकाई नगरपालिका ३ मा रहेको २ कठ्ठा माटो झापा गाउँपालिका ३ मा रहेको १ बिगाह जमिन समेत विक्री गरेर सबै पैसा जुवामा सकाएको पीडित राईले सुनाए ।
सो गिरोहले सुरुमा जतिपनि पैसा सापटी दिने र पछि प्रहरी समेतको संग्लनतामा महगो ब्याज जोडेर चेकमा सहि गर्न लगाउने गरेको पाइएको छ । जुुवा खेलाउने गिरोहसँग प्रहरीको राम्रो साँठगाठ समेत रहने गरेको जानकारहरुको भनाई छ ।
इलाका प्रहरी कार्यालय दमकले आफ्नो क्षेत्राधिकार मिचेर झापा गाउँपालिका ३ सिमलवाडीमा अपहरण शैलीमा विहान प्रहरी पठाएको राई परिवारको गुनासो रहेको छ । यसबारेमा इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुुख दिलिप गिरीले उजुरी दमकमा परेका कारण प्रहरी चेक वाउन्सको पक्राउ पुर्जीको कार्यान्वयन गर्न गएको बताए । प्रहरीले त्यहाँको स्थानीय प्रहरीसँग संचार सेटबाट समन्वय गरेको समेत गिरीले बताए ।
यता, झापामा पछिल्लो समय जुवा र मिटर व्याजको गिरोहहरुका कारण सयौ घरपरिवार विचल्लीमा परिसकेको भन्दै यस्ता अपराधिक समुुहको संरक्षण प्रहरीले गरिरहेको राई परिवारले बताएको छ । मसँग भएको सबै सम्पत्ति पनि सकियो अझैपनि चेक बाउन्स भनेर दुुख दिने काम भइरहेको छ यहि तरिका हो भने हामी परिवारलेनै आत्महत्या गर्नुको विकल्प छैन राईले भने । महंगो मिटरब्याजको रकम उठाउन प्रहरी र गुण्डाको प्रयोग उक्त गिरोहले गर्ने गरको राईले बताए ।