जेष्ठ १, २०८२ बुधबार

सवारी दुर्घटना कम गर्न अभियान चलाऔं

सम्पादकीय
तीब्र गति, जीवनको क्षति भन्ने कुरा थाहा हुँदा हुदै पनि सवारी चालकहरुको लापरबाही बढिरहेको छ । झापाकै हकमा कुरा गर्ने हो भने काँकरभिट्टा देखि दमकसम्मको रुटमा मात्रै राता बसहरुको अराजक दौड छ । राता गाडिको अराजकताले सडक सुरक्षा दिनहुँ जोखिम बढिरहेको छ । बसको लापरबाही पूर्ण दौड र मोटरसाइकल चालकहरुको तीब्र गतिले जीवनमा धेरै क्षति भइसकेको छ । सवारी चलाउनेहरुमा सर्वप्रथम आफ्नो र अन्यको जीवन रक्षा पहिलो सर्त हुनुपर्छ । तर, अहिले तीब्र गति मात्रै याद गरिराखिएको छ ।

झापामा आर्थिक वर्ष ०७८-७९ मा मात्रै ११६ जनाले ज्यान गुमाए । सवारी दुर्घटनामा मात्रै यत्तिको संख्यामा जीवन गुमिरहेको छ । यसमध्ये धेरै त लापरबाही कै कारण जीवन गुमाएका छन् । कतिपयले आफ्नै लापरबाहीबाट ज्यान गुमाए भने कतिले अन्य चालकहरुको लापरबाहीले ज्यान गुमाए । गएको एक वर्षमा मात्रै ५ जना बालबालिका, ९६ पुरुष र १५ जना महिलाले ज्यान गुमाएको तथ्याङक छ । झापा ट्राफिकको तथ्याङक अनुसार अघिल्लो आर्थिक वर्षमा ९६ जनाको दुर्घटनामा ज्यान गएको थियो । अघिल्लो वर्षभन्दा यस वर्ष ज्यान गुमाउनेको संख्या २० जना बढेको छ ।

सवारी दुर्घटनाको मुख्य कारण भनेकै लापरबाही हो । अर्को, चालक अनुमति पत्र नभएकाहरुलाई सवारी चलाउनु दिनु पनि हो । चलाइहाल्छ भन्ने विश्वासले सवारी दिदाँ धेरै परिवारमा क्षति भइरहेको छ । यसैले सवारी चलाउदा सर्वप्रथम लापरबाही नगरौं, हतार नगरौं र लाइसेन्स नभएकाहरुले सवारी नचलाऔं । यत्ति मात्रै भयो भने पनि क्षति कम हुने छ । सवारी चलाउदा ट्राफिक नियमलाई पालना गर्न सक्यौं र पालना गर्न अभिप्रेरित गर्न सक्यौ भने पनि सवारी दुर्घटना कम हुने छ । र, मानवीय क्षति घट्दै जाने छ । यसका लागि ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक अभियानहरु सञ्चालन गर्न अपरिहार्य छ ।

प्रकाशित मिति : श्रावण ५, २०७९ बिहीबार  ६ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]