१२ प्रतिशत नाघ्यो कोरोना संक्रमणदर
बिर्तामोड । कोरोना संक्रमणदर १२ प्रतिशत नाघेको छ । असार २० गतेसम्म एक प्रतिशतमा रहेको कोरोना संक्रमणदर हाल १२ दशमलव १८ प्रतिशतसम्म पुगेको हो। संक्रमित र कोरोना परीक्षणको यो संख्या चार महिना पछि यताकै सबैभन्दा उच्च हो ।
गत २४ घण्टामा ३ हजार ५६९ जनाको परीक्षण हुँदा ४३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बुधबार कोरोना संक्रमणदर ९ दशमलव ८२, मंगलबार १० दशमलव ६३, सोमबार ९ दशमलव ८२, आइतबार ४ दशमलव ४३ र शनिबार ६ दशमलव ६३ प्रतिशत थियो । गत माघ ८ गते नेपालमा कोरोना संक्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो। जुन ओमिक्रोन भेटिएपछि यताकै सबैभन्दा उच्च थियो। फागुन महिनाबाट विस्तारै घट्दै गएको कोरोना संक्रमण पुनः बढ्न थालेको छ ।
स्वास्थ्य मन्त्रालय र विज्ञहरुले कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरेको छ । तर असार २७ गतेबाट कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगेको देखिन्छ ।
संक्रमितको संख्यासँगै दैनिक रुपमा सक्रिय संक्रमितको संख्या पनि उत्तिकै बढ्दो क्रममा छ । असार २९ गतेबाट संक्रिय संक्रमितको संख्या एक हजार माथि पुग्दै हाल २ हजार माथि पुगेको छ । देशभर हाल २ हजार ५३७ जना सक्रिय संक्रमित छन् ।