इलाका प्रशासन कार्यालय गौरीगञ्जको भवन शिलान्यास
गौरीगञ्ज – जिल्लाको गौरीगञ्जस्थित इलाका प्रशासन कार्यालयको आफ्नै भवन बन्ने भएको छ । गौरीगञ्ज–३ स्थित निर्माणस्थलमा बिहीबार एक कार्यक्रम गरी झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले संयुक्तरूपमा शिलान्यास गर्नुभयो ।
इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि पालिकाका निर्वतमान अध्यक्ष बाबुराजा श्रेष्ठ, निर्वतमान वडाध्यक्ष मखना महतो, केशव अग्रवाल, महेश्वर कार्कीले संयुक्तरूपमा दुई कठ्ठा १० धुर जग्गा निःशुल्क प्रदान गर्नुभएको थियो । विसं २०७२ मा गौरीगञ्जमा इलाका प्रशासन कार्यालय स्थापना भए पनि आफ्नो भवन नहँुदा घर भाडामा लिई सेवा दिँदै आएको छ । कार्यालयमा कोठा अभावका कारण सेवाग्राहीले असुविधा पाउँदै आएका थिए ।

भवन निर्माणको जिम्मा दमकको प्रवीण निर्माण सेवाले पाएको छ । तीन तलाको निर्माण हुने उक्त प्रशासनिक भवनमा कार्यालय प्रमुखको कार्यकक्ष, आवास कक्ष, सभाहलसहित १२ कोठा रहने इञ्जीनियर भूपेन्द्र यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त भवन रु तीन करोड २२ लाख ७९ हजार ८२४ को लागतमा निर्माण हुने छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजनामार्फत ठेक्का लागेको भवन यही २०८० साल असार १६ गतेभित्रमा निर्माण सम्पन्न गरिने कम्पनीका सञ्चालक प्रकाश केसीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयअन्तर्गत झापाको दमक र गौरीगञ्जमा पनि स्थानीयवासीको सुविधाका लागि इलाका प्रशासन कार्यालय स्थापना छन् । त्यसमध्ये दमकमा यसअघि नै आफ्नै भवन निर्माण भइसकेको छ । यसैबीच इलाका प्रशासन कार्यालय गौरीगञ्जले आर्थिक वर्ष २०७८-७९ मा दुई हजार ६०३ नयाँ नागरिकता प्रमाणपत्र वितरण, ९६ जनालाई वैवाहिक अङ्गिकृत नागरिकता, एक हजार ७०७ प्रतिलिपि नागरिकता, ४७ जनालाई नाबालक परिचयपत्र र एक हजार ४२० जनालाई राहदानी वितरण गर्नाका साथै दु्रत सेवाबाट ४१७ जनालाई राहदानी वितरण गरिएको जनाइएको छ ।