एमाले प्रदेश १ ले निर्वाचनलक्षित जिल्ला स्तरीय प्रशिक्षण सञ्चालन गर्ने, झापामा साउन २२ गते
काठमाडौँ । नेकपा एमाले प्रदेश नम्बर १ को कमिटीले निर्वाचनलाई लक्षित गरेर साउन २२ देखि २८ गतेसम्म जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पार्टीको साउन ३ गते बसेको बैठकले केन्द्रीय र प्रदेश स्तरीय नेताहरूको उपस्थितिमा १४ वटै जिल्लामा आगामी निर्वाचनलाई लक्षित गरेर कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम तय गरेको हो ।
निर्वाचनका सन्देश, शिक्षा र आगामी निर्वाचनको तयारी, वर्तमान राजनीतिक शक्ति सन्तुलन, पार्टीको सामर्थ्य विस्तार र राष्ट्रको मुख्य शक्तिका रूपमा नेकपा एमालेको भूमिका अभिवृद्धि , पार्टी र जनप्रतिनिधिहरूको अन्तरसम्बन्ध, समन्वय र स्थानीय तहबाटै समाजवादका आधार तयार गर्न पार्टीले खेल्नुपर्ने भूमिका आदिका बारेमा पार्टीमा प्रशिक्षण दिइने जनाइएको छ ।
यसैगरी, पार्टी पङ्क्तिलाई अनुशासित, जन शैलीयुक्त र आर्थिक रूपमा स्वस्थ एवं व्यवस्थित बनाउने विषय, महँगी लगायतका जनसरोकारका विषयमा आन्दोलन उठाउन र यसमा पार्टी कमिटी तथा जनसङ्गठनहरूको परिचालन सम्बन्धी विषय र प्राकृतिक विपत्ति र विपद् व्यवस्थापनमा पार्टीको स्वयंसेवी संरचनालाई तयारी अवस्थामा राख्न निर्देशित गर्ने विषयमा पनि कार्यकर्तालाई प्रशिक्षित गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
प्रदेश १ का अध्यक्ष तुलसी नेउपानेले जारी गर्नुभएको अन्तर कमिटी निर्देशन अनुसार प्रशिक्षणमा नौ तहका कार्यकर्ता सहभागी हुनेछन् । जसमा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, जनसङ्गठनका प्रदेश पदाधिकारीसहित सदस्य र जिल्ला पदाधिकारी, पालिका कमिटीका पदाधिकारी, पालिकाका मेयर उपमेयर, अध्यक्ष उपाध्यक्षहरू, जिससका सदस्यहरू प्रशिक्षणमा सहभागी हुनेछन् ।
यसैगरी पालिका कमिटीका पार्टी स्कुल विभागका प्रमुख र सदस्य, पालिका कमिटीका सङ्गठन विभागका प्रमुख, वडा पार्टी कमिटीका अध्यक्ष, निर्वाचित वडा अध्यक्ष र पार्टी जिल्ला कमिटीले निर्धारण गरेअनुसार नेता कार्यकर्ता पनि प्रशिक्षणमा सहभागी हुनेछन् ।
एमाले प्रदेश कमिटी सचिव चिन्तन पाठकका अनुसार झापामा साउन २२, मोरङ, इलाम र सङ्खुवासभामा साउन २३, सुनसरी, पाँचथर र भोजपुरमा साउन २४ ,धनकुटा ताप्लेजुङ र खोटाङमा साउन २५ गते प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।
त्यसैगरी ओखलढुङ्गा र तेह्रथुममा साउन २६ मा सोलुखुम्बु साउन २७ र उदयपुरमा साउन २८ गते प्रशिक्षण कार्यक्रम भएर यो अभियान समापन हुनेछ ।