जेष्ठ ८, २०८२ बुधबार

‘एम्बुस’ जत्तिकै भइसक्यो बिर्तामोडको विद्युत संरचना

बिर्तामोड । झापाको बिर्तामोडस्थित एनएमसीको कार्यालय नजिकै रहेको ट्रान्सफर्मर लगातार तीन पटक पड्कियो । गत शनिवार यता लगातार पड्किएको ट्रान्सफर्मर ग्राहकको आग्रहमा विधुत प्राधिकरणले मर्मत गरिदियो ।

यसरी बिर्तामोडका अधिकांश ट्रान्सफर्मर पड्किरहन्छन् । कमजोर क्षमताको ट्रान्सफर्मर विधुत प्राधिकरणले मर्मत गर्दै छोड्ने गरेको छ । मानवीय क्षति नभए पनि ट्रान्सफर्मर नजिकै बस्नेहरु सधैं जोखिमपूर्ण जीवन बिताउन बाध्य छन् ।

२०३२ सालदेखि बिर्तामोडको विधुतिकरण विस्तार भएको हो । सो समयदेखि हालसम्म स्तरोन्नति नभएको अनारमनी वितरण केन्द्रका सूचना अधिकारी दिपक ढकालले जानकारी दिए । उनका अनुसार विधुत खपतलाई मध्यनजर गरेर ट्रान्सफर्मर र तारको व्यवस्था हुनुपर्छ । त्यसका लागि के कस्ता काम भइरहेका छन् भन्ने जिज्ञासामा उनले भने– हरेक वर्ष केन्द्रलाई स्तरोन्नतिको लागि बजेट माग गरिन्छ । तर, पर्याप्त मात्रामा व्यवस्थापन हुन सकेको छैन ।
अनारमनी वितरण केन्द्रबाट सुरुङा, शनिश्चरे र चारआली जोडिएका तारहरु अत्यन्तै कमशल छन् । विधुतको खपत बढ्नासाथ समस्या आइहाल्ने सूचना अधिकारी ढकाल बताउँछन् ।

बिर्तामोडका हरेक ठाउँमा विधुतिकरण अव्यवस्थित भइरहेको छ । भद्रपुर रोडसहित अन्य ठाउँहरुमा पनि मुख्य लाइनहरुमा तारको लठारो परेको छ । सडक आसपास हिडिरहने पैदल यात्रीलाई हरपल करेन्ट लाग्ला भन्ने चिन्ता हुने गरेको छ ।
भद्रपुर रोडको माछापुच्छ्रे बैंक अगाडि तार गन्जागोल अवस्थामा छ । विधुत सर्ट भएर आगलागी हुने हो भने ठुलो क्षति हुने स्थानीय बताउँछन् । गर्मीको समयमा विधुतको खपत बढिहाल्छ, उनले भने – अहिले हरेकको घरमा एसीसहित आवश्यक सबै सामग्री छ । जसका कारण गर्मीमा खपत बढ्ने वित्तिकै तारले भार थाम्न सक्दैन । कमजोर तारहरुका कारण सर्ट भइरहने र लाइन काटिरहने समस्या आइरन्छ ।

करेन्टको भार थाम्न सक्ने तारको व्यवस्था नगरेसम्म समस्या समाधान नहुने सहायक प्रशासकीय अधिकृत समेत रहेका ढकालको भनाई छ । उनका अनुसार बिर्तामोडमा भार थाम्न सक्ने तार राख्न ठुलो खर्च आउछ । त्यसका लागि सरकार गम्भीर हुनैपर्छ ।

सोही प्रकारको समस्याका कारण अहिले शनिश्चरे रोडसहित केहि ठाउँहरुमा धेरै क्षमतासम्म विधुत निर्यात गर्ने तार जडान गरिएको छ । खुदुनावारीका केहि भागमा पनि प्लाष्टिकले कभर गरिएको तार जडान गरिएका छन् । कभर भएका तार सर्ट नहुने र चुवाहट समेत नहुने निश्चित हुन्छ, ढकालले भने ।

बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले बिर्तामोडको विधुत पूर्वाधारमा देखिएको जोखिमबारे जानकार रहेको बताएका छन् । उनले यस प्रकारका गुनासो आउने गरेको सुनाए । प्रवक्ता पाण्डेले विधुत संरचनाहरुलाई जोखिममुक्त बनाउन नगरपालिका पनि जिम्मेवार भएको बताएका छन् । उनले भने – आवश्यक व्यवस्थापनका लागि प्राधिकरणसँग समन्वय गरेर काम गर्छौं ।

बिर्तामोड खानेपानीका अध्यक्ष जलकुमार गुरुङले बिर्तामोडको विधुत संरचना अत्यन्तै जोखिमपूर्ण भएको बताएका छन् । उनले विधुत संरचनामा देखिएको जोखिम दीर्घकालिन रुपमा समाधान गर्नुपर्ने प्रतिक्रिया दिए । अध्यक्ष गुरुङले भने – कुन बेला के हुन्छ, थाहा छैन । धेरै पटक प्राविधिकरणका कर्मचारी बोलाएर देखाइएको छ । त्यै पनि कुनै काम भएको छैन ।
‘कुन बेला तार चुढिएर झर्छ भन्ने त्रास छ’ , उनले भने – बेलाबेला त डोजर ल्याएर भत्काइदिउ जस्तो लाग्छ । बिर्तामोडका अगुवा समेत रहेको गुरुङले विधुत संरचनाका कारण बिर्तामोड नै अस्तव्य भएको उनको भनाई छ ।
अनारमनी वितरण केन्द्र मार्फत ८३ हजार ग्राहकले विधुत उपभोग गरिहरेका छन् ।

प्रकाशित मिति : श्रावण ७, २०७९ शनिबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]