मिलेर भत्काऔं दुर्व्यसनको जालो
सम्पादकीय
धेरै जसो परिवारको समस्या बन्दै गएको छ, लागुऔषध दुर्व्यसन । सामान्य पारिवारिक अवस्था भएको परिवारमा आफ्ना सन्तान गलत बाटोमा लागे भन्दै सुधार गर्न सहयोग माग्नेहरु छन् । तर, सामाजिक रुपमा यस प्रकारका कुराहरुलाई बाहिर ल्याउन असहज मान्नेहरुका कारण परिवारभित्र लागुऔषध दुव्र्यसनले जरा गाडेको छ । परिवारको प्रतिष्ठा जोगाउने नाममा धेरै परिवार पीडित पनि भइरहेको छ । यसैले लागुऔषध दुव्र्यसनमा जो कोहि लागेको भए पनि त्यहाँबाट मुक्त गराउनैपर्छ ।
लागुऔषधका कारण हाम्रो समाजले डरलाग्दो रुप धारण गरिररहेको छ । यसलाई बाहिर छुन सकिन्न । बाहिरबाट देख्न सकिन्न । यदि देख्न सकिन्थ्यो भने सबै अन्धकार देखिने थियो । हाम्रो समाजमा लागुऔषध दुव्र्यसन र कारोवार यसरी मौलाइरहेको छ कि कुनै ठुलौ योजना विना रोक्न नै मुस्किल पर्नेछ । अझ झापामा यसको डरलाग्दो फैलावट छ । खुला सीमाका कारण प्रहरीले रोक्न छेक्न सकेको छैन । शंकाको भरमा चेकजाँच गरेका प्रहरीले गोडा चारेकलाई पक्राउ गरेको पाइन्छ । यसरी मात्रै पनि नियन्त्रण संभव छैन ।
जेल पर्नेहरुमा पछिल्लो समय सबैभन्दा धेरै लागुऔषध कारोवारी नै छन् । प्रहरीले मुद्धा संख्यामा पनि यसलाई माथि राखेको छ । यो वर्ष मात्रै ३ सयभन्दा बढिलाई पक्राउ गर्न सफल भएको तथ्याङक छ । झापालाई मुख्य केन्द्र बनाएर यसको व्यापार हुनु जिल्लाबासीका लागि पनि चुनौतिको कुरा हो । सुरक्षाका दृष्टिले पनि चुनौतिपूर्ण छ । यसैले झापामा फैलिरहेको जालो भत्काउन समुदायस्तरबाट अभियान सञ्चालनको जरुरी छ । यदि अभियान सञ्चालन नगर्ने र वेवास्था गर्दै बस्ने हो भने झापाका हरेक घर, टोल लागुऔषधको अखडा बन्नेछन् । सचेत वर्गले सजग बनौं । आफ्ना सन्तान र यहाँका बालबालिका तथा युवाहरुलाई जोगाऔं ।