जेष्ठ १, २०८२ बुधबार

विद्युतीय दुर्घटनाबाट बचाऔं

सम्पादकीय
झापाको बिर्तामोडमा विद्युतीय संरचनाको जोखिम एकातिर छदैछ । अर्कातिर, लाखौं रुपैयाँ बराबरको विजुली बालेर महसुल नबुझाउनेहरुबाट वितरण केन्द्र पनि समस्यामा छ । आफ्ना सबै ग्राहकले विद्युत उपभोग गर्न पाउनुपर्ने भन्ने भए पनि महसुल नबुझाएका कारण लाइन काट्न बाध्य भएको पाइन्छ । बिर्तामोडमा कयौं ग्राहकले महसुल नबुझाएर केन्द्रले लाइन काटेको छ । पाँच लाखभन्दा माथि रकम पुगेका ग्राहकहरु पनि एक दर्जन छन्, बिर्तामोडमा । १७ लाखसम्म महसुल बुझाउन बाँकी देखिएको छ ।

सार्वजनिक सरोकारको क्षेत्र भएको हुँदा विद्युत उपभोग गरे वापत सबैले समयमै महसुल बुझाउने बानीको विकास गर्नुपर्ने देखिन्छ । संरचनागत सुधारमा खासै चासो नदिएको अनारमनी वितरण केन्द्रले महसुल नबुझाएका ग्राहकको लाइन काटेर आफ्नो जिम्मेवारी, जवाफदेहिता देखाएको छ । बिर्तामोडमा हरेक पोलहरु अहिले जोखिममा छन् । बजार क्षेत्रमा टागिएका तारहरु कुन बेला चुडिएर खस्ने हो टुङ्गो छैन । अनारमनी वितरण केन्द्रमा जो सुकै प्रमुख आए पनि यहाँको जोखिम व्यवस्थापनमा कुनै चासो दिएको पाइदैन । जब, ठुला क्षति हुने गर्छ तब मात्रै त्यस तर्फ ध्यान दिने गरिएको छ । यसको बेलैमा व्यवस्थापन गरियोस् ।

बिर्तामोड क्षेत्रमा देखिएका तमाम समस्याको समाधानमा स्थानीय तह पनि उत्तिकै जिम्मेवार छ । त्यसैले अनारमनी केन्द्रका प्रमुखलाई राखेर स्थानीय तहका प्रमुख-उपप्रमुखले यहाँको विद्युतीय संरचनाको बारेमा जानकारी लिन जरुरी छ । त्यति मात्रै होइन, बिर्तामोडभित्रको संरचना के कस्तो छ त्यसको अवलोकन गर्न अपरिहार्य छ । यहाँ देखिने तारका लठ्ठाले कुन बेला कसको ज्यान लिने हो थाहा छैन । अब, बिर्तामोडले कम्तिमा पालिकाको सहयोग लिएर विद्युतीय संरचनाको निर्माणमा जुट्न जरुरी छ ।

प्रकाशित मिति : श्रावण १७, २०७९ मंगलबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]