फुटपाथ व्यवस्थापन योजना सकारात्मक
सम्पादकीय
झापाको बिर्तामोड नगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउने गरि गरेको निर्णयलाई विभिन्न कोणबाट आलोचना र समर्थन भइरहेको छ । वर्गीय परिवारहरु सडकको पेटीमा हातमुख जोर्न मजदुरी गरिरहेको एउटा पक्षको भनाई छ । अर्कातिर, सार्वजनिक सडकमा पैदल यात्रीलाई हिडडुलमा ठुलो समस्या भइरहेको छ । सडक दुर्घटनाको जोखिम पनि उत्तिकै बढेर गएको छ । सडक दुर्घटना नै मुख्य समस्या देखिएको छ । सडक पेटीमा व्यवसाय गरेर बसिररहेका नागरिकको जीवन रक्षाका लागि पनि यो निर्णय सकारात्मक छ ।
सडक पेटीमा सानो लगानीबाट गरिएको व्यवसाय छ । सानो लगानी र राम्रो मुनाफा हुने व्यवसाय सडकपेटी मै छन् । उनीहरुले घर भाडा बुझाउनु परेको छैन । स्थानीय तहमा व्यवसाय दर्ता पनि गरेका छैनन् । अन्य व्यवसायीलाई नै अप्ठ्यारो हुने गरी व्यवसाय गरिरहेका सडक आसपासका व्यवसायीको व्यवस्थापन आवश्यक भएकै थियो । उनीहरुले स्वःव्यवस्थापन गर्नुपर्छ, अब । नभए, स्थानीय तहले सडक खाली गराउनैपर्छ । यदि सडक पेटी खाली गराइयो भने उनीहरु सुरक्षित पनि हुने छन् ।
सडक पेटीमा फुटपाथ व्यवसायीले मात्र अवरोध गरेका छैनन् । घर भाडामा लिएर व्यवसाय गर्नेहरु पनि आफ्ना मालसामान सडकसम्म फिजाइरहेका हुन्छन् । अर्थात, पसलभित्र भन्दा बाहिर धेरै सामान राखिएको देख्न पाइन्छ । ति व्यवसायी भनेको असभ्य व्यवसायी हुन् । संसार डुलेर पनि कुै शिक्षा प्राप्त गर्न नसकेका व्यवसायीहरु सडकसम्म आफ्ना मालसामान फिजाइदिन्छन् । व्यवसाय गरेर बस्ने ठाउँ कम्तिमा सुन्दर हुनुपर्छ । बिर्तामोडको सौन्दर्यता त्यस्ता व्यवसायीले विगारेछन् । यसैले फुटपाथ व्यवस्थापनमा नगरपालिकाले व्यवसायीको समन्वयमा काम गरोस् । व्यवसायीले स्थानीय सरकारको योजनालाई सफल बनाउन सहयोग गरौं ।