असार १७, २०८२ मंगलबार

जोरसिमलको जाँच केन्द्र गैरकानुनी, हटाउन अदालतको आदेश

झापा – उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले बिहीबार मेची भन्सार कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो । झापाको मेचीनगर–७ जोरसिमलस्थित पूर्वपश्चिम राजमार्गमा मेची भन्सार कार्यालय र सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा गुल्मले सञ्चालन गरिरहेको जाँच केन्द्र हटाउन, जाँचका नाममा सर्वसाधारणलाई सास्ती नदिन र निर्वाधरुपमा आवागमन गर्न दिन अदालतको आदेशमा उल्लेख छ ।

जोरसिमलको जाँच केन्द्र गैरकानुनी भएको हुँदा त्यसलाई हटाइपाउँ भनी सन्दीप खनालले मेची भन्सार कार्यालय र सशस्त्र प्रहरी वलको राजस्व तथा भन्सार सुरक्षा गुल्मलाई विपक्षी बनाई हालै उच्च अदालत इलाम इजलासमा रिट निवेदन दर्ता गराउनुभएको थियो । रिटमाथिको पहिलो सुनुवाइ गर्दै अदालतले गत साउन १९ गते जाँच केन्द्र हटाउन अन्तरिम आदेश जारी गरेको थियो ।

सो अन्तरिम आदेशलाई बिहीबारको फैसलाले सदर गरेको रिट निवेदकको तर्फबाट बहस पैरवी गर्नुभएको अधिवक्ता अशोक पोखरेलले बताउनुभयो । निवेदकको तर्फबाट पोखरेल र अधिवक्ता सुरज खत्रीले बहस गर्नुभएको थियो भने विपक्षीका तर्फबाट उच्च सरकारी वकिल कार्यालय इलामका न्यायाधिवक्ता तेजबहादुर सिञ्जाली मगरले बहस गर्नुभएको थियो ।

प्रकाशित मिति : श्रावण २७, २०७९ शुक्रबार  ७ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]