सुरक्षा गस्ती बढाऊ
सम्पादकीय
साउन २५ गते एक जना व्यापारी लुटिए । उनको साथबाट १ लाख रुपैयाँ लुटियो । बैंक सोध्ने बहानामा पछि लागेका व्यक्तिले ५९ वर्षीय अदुवा व्यापारीबाट नगद १ लाख लुटे । बिर्तामोडस्थित सानिमा बैंकको पुरानो कार्यालयबाट पछि लागेका व्यक्तिले आफै अटो भाडा समेत तिरे । अन्तिममा भाडा तिर्ने व्यक्तिले नै लुटेर भागे । अहिले प्रहरी लुटपाटमा संलग्न व्यक्तिको खोजीमा छ । एक हप्ता पुग्न लाग्दा पनि त्यसको पहचिान हुन सकेको छैन । प्रहरीले यस प्रकारको गम्भीर घटनामा सोही अनुसार तीब्र खोज गर्न आवश्यक छ ।
बिर्तामोडको चहलपहल बढ्दो छ । बढ्दो चहलपहलका कारण सुरक्षा पनि उत्तिकै जोखिम भइरहेको छ । एउटा सामान्य मान्छे केहि नगद बोकेर हिडडुल गर्न सक्ने अवस्था छैन । बढ्दो सुरक्षा चुनौतिका कारण बिर्तामोडका आम नागरिक त्रसित हुनुपर्ने अवस्था बन्दै गइरहेको छ । यहाँको सुरक्षा व्यवस्था मिलाउने सवालमा सुरक्षा निकाय र सरोकारपक्ष पनि सचेत हुन आवश्यक छ । बिएण्डसी नजिकै रहेको सानिमा बैंकबाट पैसा झिकेर गन्तव्य तर्फ जाँदै गर्दा बाटोमै लुटिनु यहाँको कमजोर असुरक्षा नै हो । सडकभरी प्रहरी देखिएको भए लुट्ने साहस पक्कै गर्ने थिएन ।
झापाको बिर्तामोड पूर्व नेपालको प्रमुख व्यापारीक केन्द्र पनि हो । यहाँको सुरक्षालाई राज्य पक्षले विशेष सरोकार दिन आवश्यक छ । मुख्यतः यहाँको सुरक्षा व्यवस्था फितलो हुनासाथ यस प्रकारका घटना दोहोरिन्छ । यसैले सुरक्षा निकायले यहाँको सुरक्षाका लागि समुदायसँग पनि समन्वय गर्न आवश्यक छ । व्यस्त सडकमा लुटपाट हुनु सामान्य कुरा होइन । यसैले यहाँको सडक सुरक्षाका लागि सीसी क्यामेरा, प्रहरीको निगरानी र गस्ती बढाउन आवश्यक छ । जो कोहि यसरी खुला बजारमा लुटिने दिनको अन्त्य गरिनुपर्छ । सुरक्षा निकाय र वित्तीय संस्थाले नागरिकको सुरक्षाका लागि सचेत पनि गराउनुपर्छ ।