जेष्ठ २, २०८२ बिहीबार

झापामा मौलायो तस्करी

सम्पादकीय
झापामा पछिल्लो केहि महिना अवैध सामान आयातको तथ्याङक उकालो लागेको छ । भर्खरै बिर्तामोडमा दुई वटा फुलवडी मालबाहक अनुसन्धानका लागि राजश्व विभाग हरिहर भवन ललितपुर पठाइएको छ । शनिश्रे सशस्त्र प्रहरीको टोलीले बिर्तामोडको पाथीभरा टोल क्षेत्रबाट ट्रकलाई नियन्त्रणमा लिएको थियो । त्यो ट्रकमा थान कपडा हुन सक्ने आशंका गरिएको छ । भन्सार छलेर ल्याइएको आशंकमा नियन्त्रणमा लिइएको ट्रकको सामान मेची भन्सार, विभागको कार्यालय इटहरी नपठाई विभागको केन्द्रीय कार्यालय पठाउनुले सबैको चासो बढेको छ ।

झापाका मुख्य बजारहरुमा भन्सार छलेर करोडौंको थान कपडा भित्राइरहेको सूचनाहरु सार्वजनिक भइरहेका छन् । सबैभन्दा धेरै बिर्तामोडमा त्यस प्रकारका सामान आयात भइरहेको सूचना छ । बिर्तामोडमा कसले तस्करीको काम गरिरहेको छ । तस्करी गर्ने को हो ? राज्यमाथि आँखा छलेर व्यापार गर्ने व्यापारीको खोजी हुन आवश्यक छ । सामान नियन्त्रणमा लिने र प्रक्रिया पुरा गर्ने कुराले केहि समाधान हुने वाला छैन । सामान भित्राउने मालिकको खोजी हुन जरुरी छ । यदि तस्करीका नाइकेको खोजी हुदैन भने तस्करी सधैं चलिरहन्छ ।

सशस्त्र प्रहरी, जनपथ प्रहरी र भन्सारको घेराबाट करोडौंको सामान भित्रिनु भनेको सामान्य विषय होइन । यो तिनै निकायबिचको सेटिङ हो । सेटिङमा तलमाथि भएका कारण मात्रै सामान नियन्त्रणमा लिइएको आम नागरिकको आशंका छ । होइन भने, कसरी ? कुन आँटले ट्रकका ट्रक सामान विना भन्सार भित्राइन्छ ? सुरक्षाकर्मीको सामुन्नेबाट भित्राएको सामान जिल्लाका बजारसम्म विना भन्सार कसरी आइपुग्छ ? यसको जवाफदेही सुरक्षा निकाय र भन्सार कार्यालय हुनुपर्छ । झापामा तस्करीको जालो चलाउने को हो ? त्यसको खोजी आवश्यक भइसकेको छ ।

प्रकाशित मिति : भाद्र ३, २०७९ शुक्रबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]