निर्वाचनमा गठबन्धनलाई सजाय
सम्पादकीय
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको एकै चरणमा निर्वाचन हुदैछ । निर्वाचन आयोगले त्यसको लागि निरन्तर तयारी गरिरहेको छ । आयोग, सुरक्षा निकायले आआफ्नो दायित्वभित्र पर्ने कामको तयारी गरिरहेका छन् । राजनीतिक दलहरु मतदातासम्म पुग्न थालेका छन् । खासगरी नेकपा एमाले जनताको बिचमा गइरहेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरु गठबन्धनभित्र दलको संख्या बढाउने ध्याउन्नमा छन् । यसले जनताको बिचमा को कति प्रिय छ भन्ने भने स्पष्ट बनाइरहेको छ । दलहरुप्रति आम नागरिकको वितृष्णा बढिरहेको बेला गठबन्धनको चर्तिकलाले राजनीतिप्रति दिक्दार परिस्थिति निर्माण गरिरहेको छ ।
यहि हप्ता राष्ट्रिय राजनीतिमा देखिएका केहि दृष्यले मतदातालाई चिन्तित बनाएको छ । जनताको बिचमा काम गर्ने भन्दा पनि चुनाव कसरी जित्ने मात्रै ध्यान देखियो । बामदेव गौतमले आफुलाई सुरक्षित बनाउन माओवादीको चुनाव चिन्ह प्रयोग गर्ने निर्णयमा पुगे । त्यस्तै बाबुराम भट्टराईले पनि माओवादीकै चुनाव चिन्ह प्रयोग गर्ने घोषणा गरिसकेका छन् । यसले राजनीतिमा वितृष्णा अवश्य पैदा गराउनेछ । किनभने, दलीय व्यवस्थामा प्रतिष्पर्धा गर्ने भन्दा पनि आफ्नो सुरक्षा खोज्नु बेक्कार छ, अराजनीतिक छ ।
कुनै पनि निर्वाचनमा जानुभन्दा पहिले दलहरु जनताको बिचमा जानुपर्छ । आफ्नो योजना र विगतमा गरेका कामको विवरण बोकेर जनताको बिचमा जानुपर्ने हो । तर, यहाँ त्यस प्रकारको अभ्यास भइरहेको छैन । यहाँ एकले अर्कालाई खुइल्याउने मात्रै प्रतिष्पर्धा चलिरहेको छ । अझ, कांग्रेस–माओवादीले गठबन्धन बनाएपछि नेपालको राजनीति क्षेत्र नै फोहोरी भइरहेको छ । राजनीतिलाई सुदृढ बनाउनुपर्नेमा कांग्रेसको नेतृत्वमा थप गञ्जागोल बनाउने काम भएको छ । राष्ट्र र राष्ट्रियतालाई लथालिङ बनाएर गठबन्धन अघि बढेका कारण जनताले अवश्य सजाय दिनेछन् ।