बैशाख २७, २०८२ शनिबार

अलैँचीको घरेलु खपत न्यून भएकोमा चिन्ता

झापा । ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैँचीको घरेलु उपभोग र बजार प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् ।

पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैँचीको उत्पादन हुँदै आएको छ । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैँचीको विश्वभर व्यापक प्रयोग भइरहे तापनि उद्गमथलो नेपालमै यसको उपभोग न्यून भएको उनको भनाई छ ।

विश्वचर्चित ‘बिबिसी मास्टर सेफ प्रतियोगिता’का विजेता साह अलैँचीको घरेलु खपत बढाउने अभियानका क्रममा झापा र इलामका अलैँची कृषक, व्यवसायी र होटलका कुकहरुसँग भेटघाट र अलैँचीखेती अवलोकनका लागि शुक्रवार झापा आएका हुन् ।

नेपाल अलैँची व्यवसायी महासंघले होटल एसोसिएसन अफ नेपाल, कृषि मन्त्रालय र स्वीस विकास सहयोग (एसडिसी)सँगको सहकार्यमा गत साउनदेखि ‘वाह अलैँची’ अभियान सुरु गरेको छ । मास्टर सेफ साह यो अभियानको ब्रान्ड एम्बेसडर हुन् ।
‘विदेशमा रहँदा अलैँचीको खुबै प्रयोग हुन्थ्यो, तर मलाई ती अलैँची आफ्नै देशको उत्पादन हो भनेर थाहा थिएन’, जिल्लाका धुलाबारीमा व्यवसायीसँगको भेटघाटमा उनले भने, ‘जब मैले बिबिसी मास्टर सेफमा भाग लिएँ । त्यहाँ अलैँचीको नाम आयो । अनि मात्र थाहा पाएँ कि अलैँची त हाम्रै देशको उत्पादन पो रहेछ ।’

विदेशबाट आयातित वस्तुको उपभोगमा न्यूनीकरण गरेर स्वदेशी अलैँचीको उपभोगका लागि जनचेतना बढाउन आवश्यक रहेको र आफू त्यसैमा लागिरहेको बताए । नेपालमा विदेशबाट आयातित सुकुमेल हरेक खानेकुरामा प्रयोग हुने गरेको र अलैँची उपेक्षामा परेको उनको भनाइ छ ।

चिया, खाना, तरकारी, मासु, माछालगायत भान्साका हरेक वस्तुमा अलैँचीको प्रयोग गर्न सकिने हुँदा घरेलु बजार प्रवद्र्धनका लागि वाह अलैँची नामक किताब प्रकाशन गर्ने, अलैँची प्रयोग गरिएको खानेकुरा प्रदर्शनी गर्ने र होटलका कुकसँग अन्तक्र्रिया गर्ने कार्यक्रम अघि बढाएको जानकारी दिए ।

पाँच प्रतिशत मात्र घरेलु खपत
नेपालमा उत्पादित अलैँचीको पाँच प्रतिशत मात्र घरेलु बजारमा खपत हुने गरेको र बाँकी सामान भारत निकासी हुँदै आएको नेपाल अलैँची व्यवसायी महासंघका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले जानकारी दिए ।
सिधै तेस्रो मुलुकमा निकासीका लागि सकस हुँदा नेपाली व्यवसायीले भारतीय बजारमा अलैँची बेच्न बाध्य भइरहेको जनाउँदै उनले घरेलु बजारको आयतन बढाउन सक्दा कृषक र व्यवसायी दुवै पक्षलाई फाइदा पुग्ने धारणा व्यक्त गरेका छन् ।
महासंघको तथ्याङ्कअनुसार नेपालमा १८ हजार हेक्टरमा अलैँचीखेती हुने गरेको छ । जसअनुसार वार्षिक १३ हजार ४४ मेट्रिकटन उत्पादन हुन्छ । नेपालबाट वार्षिक सात अर्ब बराबरको अलैँची निर्यात हुँदै आएको छ ।

अरबी मुलुकमा मासुमाछामा मसलाका रुपमा अलँैचीको उपभोग हुने गरे तापनि नेपालमा सिलौटामा पिसेर चिया मसलाका रुपमा न्यून प्रयोग हुने गरेको छ । अलैँचीलाई औषधीय गुण भएको मसला मानिन्छ ।
घरेलु उपभोग र बजार प्रवद्र्धनका लागि मास्टर सेफ सन्तोष साहलाई ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ घोषणा गरिएपछि स्वदेशी खपत बढ्ने महासंघको अपेक्षा रहेको कार्यकारी अधिकृत ढुङ्गानाले बताए ।

‘ब्रान्ड एम्बेसडर’ साहले शुक्रवार नै इलामको रोङ गाउँपालिकास्थित जिर्मलेमा अलैँची खेतीको अवलोकन गरेको र त्यहाँका कृषकसँग अन्तक्र्रिया गरेको ढुङ्गानाले जानकारी दिए । अवलोकनमा दातृ संस्था स्वीस विकास सहयोग (एसडिसी) र अलैँची व्यवसायी महासंघका प्रतिनिधिसमेत सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : भाद्र ४, २०७९ शनिबार  १० : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]