फोहोरको वर्गिकरण गर
सम्पादकीय
लामो प्रयासपछि बिर्तामोड नगरपालिकाले फोहोर उठाउन थालेको छ । झण्डै एक महिनासम्म नउठेको फोहोर शुक्रवारदेखि उठाउन शुरु गरेको हो । निकै कठिनाई र व्यापक अवरोधका बिच बिर्तामोड नगरपालिकाले फोहोर उठाउन थालेको छ । कार्यदल नै बनाएर बिर्तामोडले फोहोर उठायो । आफ्नो डम्पिङ साइड नहुँदा बिर्तामोडले हदैसम्मको कठिनाई व्यहोरिरहेको छ । यहाँका नागरिक फोहोर नउठ्दा कष्टपूर्ण दैनिकी विताउन बाध्य थिए । स्थानीय तहसँग डम्पिङ साइड पनि नहुनु, हेरिएका ठाउँ आसपासका नागरिकबाट पनि सहयोग नहुनुले फोहोर उठन् सकेको थिएन । अब, केहि सहजता भए पनि स्थायी समाधान भने भएको छैन ।
बिर्तामोड नगरपालिकाले आजभन्दा १० वर्ष अघिदेखि डम्पिङ साइडको व्यवस्था गर्नुपर्ने हो । अहिले आएर डम्पिङ व्यवस्थापन गर्छु भन्दा संभावना कमजोर छ । कनकाईमा निर्माण भइरहेको उर्जाको संरचना नै बिर्तामोडको बलियो विकल्प हुन सक्छ । तर, त्यसका लागि फोहोरको वर्गिकरण जरुरी पर्छ । फोहोर वर्गिकरण गरेर मात्रै संकलकहरुलाई दिनुपर्छ । कुहिने र नकुहिने फोहोर छुट्टाउनका लागि बिर्तामोड नगरपालिकाले पनि आवश्यक व्यवस्थापन गर्नुपर्छ । फोहोरको उचित व्यवस्थापनका लागि अहिले कै परिस्थिति रह्यो भने फेरि पनि समस्या आउन सक्छ ।
फोहोर भन्नु मात्र छ । फोहोरभित्र रहेको मोहोरलाई धेरैले चिन्न सकेको अवस्था छैन । घरभित्रबाट उत्पादन हुने फोहोर मात्र होइन, व्यापार व्यवसायबाट उत्पादित फोहोरमा पनि मोहोर छ । प्लाष्टिक, कागज, धातुजन्य वस्तु, पुराना मोवाइल, व्याट्री, सबै नै विक्रि हुन्छ । वास्तव मै भन्ने हो भने फाल्नै पर्ने फोहोर कमै छ । यसैले फोहोरमा पनि मोहोरको खोजी गर्न जरुरी छ । यहाँको वातावरणलाई स्वच्छ र सुन्दर बनाउनका लागि पहिले आम नागरिक नै सचेत हुने हो । यदि सजग हुन सकिएन भने फोहोरबाट हुने स्वाथ्य जोखिममा पनि प्रत्यक्ष मारमा पर्ने आम नागरिक नै हो । यसैले फोहोरको वर्गिकरण गरेर नगरपालिकालाई समेत व्यवस्थापनमा सहयोग गरौं । र, नगरले समेत फोहोर व्यवस्थापनलाइ स्थायी र आयमुलक बनाउन जरुरी छ । जनप्रतिनिधिले यो काम गर्नेपर्छ ।