फोहोरको चुनौति
सम्पादकीय
झापाको बिरिङ खोलामा अस्पतालजन्य फोहोर फालिएको विषयले विवाद सिर्जना भयो । मानव जीवनसँग प्रत्यक्ष जोडिएको खोलामा अस्पतालको फोहोर फाल्नु गम्भीर अपराध हो । बिरिङ खोलामा फालिएको फोहोरले मानिसमा मात्र होइन , जीवजन्तुमा समेत गम्भीर असर पुराएको छ । सबै खोलानाला पवित्र मानिन्छ । त्यै पवित्र खोलामा फोहोर फाल्ने काम अपवित्र भयो । कसैले पनि चित्त बुझाउन नसकिने काम गरेको कम्पनीलाई तत्काल कारबाहीको दायरामा ल्याएर इजाजत नै रद्द गर्नुपर्छ ।
अस्पतालहरुमा ठुलो परिमाणमा फोहोर उत्पादन हुन्छ । अस्पतालमा उत्पादन हुने फोहोरमा सिरिन्च, अपरेशन गर्दाका मानवीय अंगहरु र अन्य फोहोरमैला फालिएका हुन्छन् । यो वातावरणीय दृष्टिले अत्यन्तै खतरा हो । यसको उचित व्यवस्थापन गर्न अस्पतालहरुले सकिरहेका छैनन् । निजी कम्पनी मार्फत फोहोर व्यवस्थापन गरिरहेका अस्पतालहरुले उचित व्यवस्थापन गर्न जरुरी छ । फोहोर व्यवस्थापन आफैमा चुनौतिको विषय हो । अस्पतालहरु यसमा गम्भीर र सजग हुनुपर्छ ।
बिर्तामोडका अस्पतालहरुको फोहोर फाल्ने जिम्मा लिएको ग्लोवल हाइजिन एण्ड सेनिटेशन कम्पनीले नियमित रुपमा फोहोर उठाइरहेको छ । नियमित रुपमा उठाइरहेको फोहोर व्यवस्थापन कहाँ कसरी गरिरहेको छ ? कम्पनीले उठाएको फोहोर कसको जमिनमा फालिदैछ । त्यसको निगरानी पनि हुन आवश्यक छ । बजारमा उत्पादन हुने फोहोरभन्दा धेरै हानिकरक हुने अस्पतालजन्य फोहोरको व्यवस्थापनमा लापरबाही नगरौं । यसले मानव जीवनमा गम्भीर समस्या ल्याउने छ । यसैले सबै अस्पतालहरु मिलेर फोहोर व्यवस्थापनमा देखिएको चुनातिको सामना गर्नुपर्छ ।