नेपालले केन्यालाई हरायो
काठमाडौ । नेपालले घरेलु टोली केन्यालाई पाँच विकेटले पराजित गर्दै पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेलमा विजयी सुरुआत गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा केन्याले दिएको एक सय ३१ रनको लक्ष्य नेपालले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै एक सय ३३ रन जोड्यो ।

नेपालको जीतमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रन बनाए । त्यस्तै आरिफ शेखले अविजित २४ रन जोडे भने ज्ञानेन्द्र मल्लले २३ रन जोडे । यसैगरी आसिफ शेखले १९ रन बनाए भने रोहित पौडेल १३, आदील अन्सारी २ तथा अविजित पवन सर्राफले १ रन जोडे । केन्याका लुकास ओलुओच र भिराज पटेलले २-२ विकेट लिए । नेहिमिहाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ८ विकेट गुमाएर एक सय ३० रन बनाएको थियो । केन्याका लागि इरफान करिमले सर्वाधिक ३४ रन बनाए । लुकास ओलुओचले अविजित ३० रन जोडे ।
यस्तै नेल्सन ओढियाम्बोले १९ रन जोड्दा सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन बनाए । नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदिल अन्सारी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट झारे । जीतसँगै पाँच खेलको सिरिजमा नेपालले १–० को अग्रता बनाएको छ । अब नेपालले भोलि शुक्रबार दोस्रो टी–ट्वान्टी खेल खेल्नेछ ।