कृपया, बजार अनुगमन गरिदेऊ
सम्पादकीय
चाडवाडले छ्याप्पै छोपेको छ । हिन्दु महिलाहरुले हिजै मात्र तीजको ब्रत सके । महिलाको उल्लासको पर्व हरितालिका तीजसँगै चाडवाडहरु नजिक–नजिक आएका छन् । कोरोना महामारीले प्रायः परिवारहरुमा पीडा दिएर गयो । गएका दुई वर्षका चाडवाड सबैका लागि खल्लो भए । फेरि कोरोना महामारीको संक्रमण विस्तारै बढ्दैछ । कोरोनाको त्राससँगै चाडवाडको स्वागत गर्न थालिएको छ । एकातिर संक्रमणको त्रास छ, अर्कातिर महंगी र व्यापारीको मनोपलीको त्रास छ । दुवै आम मान्छेका लागि हानिकारक छ । यसको नियन्त्रणमा सरोकारपक्ष सजग हुनैपर्छ ।
कोरोना महामारीबाट बचाउन स्वास्थ्य मन्त्रालय निरन्तर आफ्नो काममा लागेको छ । खासगरी भ्याक्सिन लगाउन नागरिकलाई अपील गरिरहेको छ । यस्तै, समस्याको रुपमा रहेको व्यापारी आतंकको पनि उपचार खाज्नैपर्ने भएको छ । यसको उपचार भनेको अनुगमन नै हो । अनुगमन र कारवाही नगर्ने हो भने बजारमा व्यापारीले आम उपभोक्तालाई नमज्जाले लुट्नेछन् । यसैले तत्काल बजारको अनुगमन आवश्यक छ । यदि, जिम्मेवार निकाय बजार अनुगमनमा आएन भने उपभोक्ता मज्जाले ठगिनेछन् ।
कोरोना महामारीले दुई वर्ष व्यापार क्षेत्र प्रभावित भयो । प्रभावित भएका व्यवसाय क्षेत्रमा आफ्नै मुल्य आतंक छ । मनमरी मुल्य राखेर सामग्रीको विक्रि वितरण भइरहेको पाइन्छ । बिर्तामोड क्षेत्रमा रहेका अधिकांश पसलहरुमा मुल्यसूची समेत राखिएको छैन । मुल्यसूची नराख्नु भनेको पनि बद्मासी हो । सूची राख्न अनिवार्य छ । अब, जिल्ला प्रशासनले अरु बेला नियमित बजार अनुगमन नगरे पनि चाडवाडलाई नै लक्षित गरेर बजार अनुगमन गरे उपभोक्ता ठगिनबाट बच्ने थिए । त्यसका लागि स्थानीय तहले पहल गरोस् । मिति गुज्रिएका सामान र महंगीको मारमा परेका उपभोक्तालाई ठगिनबाट बचाइदेऊ ।