फोहोर व्यवस्थापनमा नागरिकको सहयोग जरुरी
सम्पादकीय
स्थानीय तहहरुलाई सबैभन्दा टाउको दुखाईको विषय भएको छ , फोहोरमैला व्यवस्थापन । फोहोरमैला व्यवस्थापनका लागि पालिकाहरुले गरेका कयौं प्रयास असफल भइरहेका छन् । त्यसको मुख्य जड भनेको प्रविधिको प्रयोग हुन नसक्नु नै हो । अहिले जथाभावी व्यवस्थापन भइरहेको छ, अर्थात काम चलाउ भएको छ । यसै समस्याबाट लामो समयदेखि बिर्तामोड नगरपालिका पीडित छ । साउन महिनाभर फोहोरमैला व्यवस्थापन गर्न सकेन । नगरवासी नागरिककै अवरोधका कारण फोहोरमैला व्यवस्थापन हुन सकेको थिएन । अहिले फोहोरमैला व्यवस्थापन अस्थायी रुपमा भइरहेको छ ।
फोहोर व्यवस्थापनका लागि पालिकाहरुमा समन्वय र सहकार्यको खाँचो छ । अहिलेसम्म समन्वय भइरहेको अवस्था छैन । जसका कारण पालिकाहरु यो समस्यामा एक्लाएक्लै जुधिरहेका छन् । यसैले पालिकाको एकअर्कामा सहकार्य भए व्यवस्थापन सहज हुने निश्चित छ । दीर्घकालिन व्यवस्थापन अहिलेको आवश्यकता पनि हो । व्यवस्थापनमा अर्को समस्या भनेको आम नागरिकको लापरबाही पनि हो । लापरबाहीकै कारण बजारमा फोहोरमैला व्यवस्थापनमा समस्या बल्झिरहेको छ ।
मंगलवार बिर्तामोडको नयाँ बसपार्क प्रवेश गर्ने ठाउँ नजिकैको चिया बगान क्षेत्रमा एउटा पिकअप भेनलाई नगर प्रहरीले नियन्त्रणमा लिए । महानन्द चोकको फोहोर पिकअप मार्फत सार्वजनिक स्थलमा फाल्दै गर्दा नगर प्रहरीले नियन्त्रणमा लिई पाँच हजार जरिवाना गराए । सार्वजनिक स्थानमा फोहोर फाल्न पाइदैन भन्ने जानकारी हुँदा हुँदै लापरबाही गरिन्छ । फोहोर व्यवस्थापनका लागि फोहोरको वर्गिकरण गर्नुको बदला चोकचोकमा जथाभावी फोहोर फालिन्छ । नगरका कर्मचारीलाई उठान नै समस्या हुने गरि फालिएको हुन्छ । अब, व्यवस्थापनलाई प्रभावकारी बनाउने हो भने नागरिकको तहबाट पनि रचनात्मक सहयोगको खाँचो छ ।