बिर्तामोडको फुटपाथ व्यवसायी टहरामा
बिर्तामोड । बिर्तामोड नगरपालिकाको फुटपाथ खाली गराउने अभियान सफल हुन थालेको छ । वर्षौदेखि अटेरी गरेर बसेका व्यवसायीमाथि नगरपालिकाले कडा एक्सन लिएरपछि व्यवसायी धमाधम व्यवस्थापनमा लागेका हुन् ।
बिहीवार बिर्ता बजार क्षेत्रमा फुटपाथमा व्यवसाय गर्दै आएका ४२ जना व्यापारीले स्थानीय सन्तोष घिमिरेले निर्माण गरेको टहरामा व्यवस्थित भएर व्यापार शुरु गरेका छन् । सो टहराको नगरप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी छन् । ४२ जना व्यवसायीमा अधिकांश सागसब्जी व्यापारी रहेका छन् । केहि व्यवसायी कपडा व्यापार गर्ने छन्, वडा नं. ३ का वडाध्यक्ष मदन बुढाथोकीले भने, अधिकांश व्यवसायी किसान हुन् । आफ्नो बारीको उत्पादन दैनिक विक्रि गर्न मिल्ने गरी व्यवस्था मिलाइएको उनको भनाई छ । अव्यवस्थित हिसावले बसेका किसानलाई टहरा प्रयोग गरे वापत दैनिक २० रुपैयाँ शुल्क लिने बताइएको छ । सो रकम टहरा निर्माणकर्ताले लिनेछन् । त्यसमा नगरपालिकाले कुनै शुल्क नलिने बताइएको छ । वडा नं. ३ का वडाध्यक्ष बुढाथोकी भन्छन्, अब यस क्षेत्रको फुटपाथ व्यवस्थापन पनि शुरु भयो ।

बुधबार मात्रै मुक्तिचोक क्षेत्रका फुटपाथ व्यवसायीले व्यवस्थित स्टल निर्माण गरेर व्यापार थालेका छन् । भद्रपुर रोड किनारमा वर्षौदेखि व्यापार गरेर बसेका उनीहरुले नगरको निर्देशन अनुसार ठाउँ खाली गरेका हुन् । फुटपाथबाट हटेपछि व्यापारीलाई घाम, पानीको समस्या पनि समाधान भएको जानकारी दिएका छन् ।
बिर्तामोडको बजार क्षेत्रमा सयौं व्यवसायी फुटपाथमा व्यापार गर्दै आएका छन् । वर्षौदेखि बसेको ठाउँ नछोड्ने अडान लिइरहेका व्यवसायी अन्ततः आफ्नो व्यवस्थापनमा लागेका छन् ।

बिर्तामोडमा सर्वदलीय बैठक बसेर फुटपाथ व्यवस्थापन गर्ने सहमति गरेको थियो । बिर्तामोड नगरपालिकाको अगुवाईमा भएको सो अभियान विस्तारै पूर्ण रुपमा सफल हुने मेयर प्रसाईको भनाई छ । उनले व्यवसायीकै हितका लागि फुटपाथ छोड्ने आग्रह गरेको बताइन् ।
नगरले साउन २० गते सर्वदलीय बैठक राखेर फुटपाथ हटाउने सर्वदलीय बैठकबाट निर्णय गरेको थियो । २२ गते ७ दिने सूचना जारी गरेको नगरले साउन अन्तिमबाट फुटपाथ व्यवसायीलाई पूर्ण रुपमा हटाएको हो । फुटपाथबाट हटाएपछि उनीहरु धमाधम व्यवस्थापनमा जुटेका छन् ।
