गठबन्धनको भागवण्डा नमिल्दा कार्यकर्ता निराश
काठमाडौं -निर्वाचन क्षेत्रको सिट बाँडफाँट गर्न नसक्दा सत्तारुढ गठबन्धनको निर्वाचन गतिविधी सुस्त भएको छ । कुन क्षेत्र कस्को भागमा पर्छ भन्ने टुंगो नभएका गठबन्धनका कार्यकर्ता चुनावी अभियानमा निस्किएका छैनन् । अर्कोतिर सबै पार्टीहरुले क्षेत्रगत रुपमा उम्मेद्वारको सिफारिस गरिरहेकोले सो क्षेत्र अर्को पार्टीको भागमा पर्दा सिफासिर नै निस्क्रिय हुने भएकोले पनि गठबन्धनका कार्यकर्तामा कुनै हौसला नदेखिएको उनीहरुले बताउने गरेका छन् ।
शिर्ष नेतृत्वले पनि सिटको बाँडफाँड टुंगो लगाउन नसकेकोले पुन कार्यदलमा नै फिर्ता गरेको छ । सञ्चार मन्त्री ज्ञानेन्द्र कार्कीले सबै सिटमा तालमेल भइसक्यो भने पनि माओवादीले त्यो गलत भएको दाबी गरेको छ । कार्यदलमा रहेका माओवादीका एक नेताका अनुसार सिटको टुंगो लागेको छैन । त्यसैले आज फेरी कार्यदल बैठक बस्दैछ । काँग्रेसले ८५ सिटको दाबी गरेको छ भने माओवादीले ६० सिटको । त्यसमा पनि कतिपय ठाउँमा शिर्ष नेताहरुलाई ठाउँ लिनु दिनु पर्दा त्यसले सिट बाँडफाँडमा केही जटिलता भएको नेताहरुको भनाइ छ ।
कार्यदलले सबै सिटको टुंगो गरेर आज प्रतिवेदन बुझाउने भने पनि तनहुँ,झापा,सर्लाही,सप्तरी रुपन्देही जस्ता जिल्लाका केही क्षेत्रमा कसले कसलाई छोड्ने कि नछोड्ने भन्ने विषय पेचिलो भएर बाँडफाँड नटुंगिएको एक नेताले जानकारी दिए ।
कार्यदलको बैठक बुधबार अपरान्ह साँझ ५ बजे बालुवाटारमा फेरि बस्दैछ।
गठबन्धनमा आबद्ध दलहरूले आगामी मंसिर ४ मा हुने निर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए।