अनाधिकृत संरचना हटाएर सहयोग गरौं
सम्पादकीय
झापाको बिर्तामोड नगरपालिकाले फुटपाथ व्यवस्थापनसँगै अनाधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने भएको छ । नगरपालिकाले कार्यपालिकाबाट निर्णय गर्दै अनाधिकृत संरचना हटाउने काम थाल्ने खवरले यहाँका नागरिक उत्साहित भएका छन् । यस क्षेत्रको विकास, सुन्दरता र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न चहानेहरुले अवश्य पनि यो अभियानलाई सफल बनाउन साथ दिने छन् । यसका लागि यहाँका आम नागरिकको भूमिका नै मुख्य हुनेछ ।
बिर्तामोडले १५ दिनभित्र अनाधिकृत रुपमा निर्माण गरेका संरचना हटाउन सूचित गराइरहेको छ । यो काम थाल्ने विषय बाहिर आएपछि सबैले काठमाडौंका मेयर बालेन्द्र शाहको काम कपि गरेको भन्दै आलोचना पनि गरिरहेका छन् । सार्वजनिक स्थानमा निर्माण गरिएको संरचना सबैले हटाउनै पर्छ । बालेनले शुरुआत मात्रै गरेका हुन् । र, राम्रो काम कपि गरेपनि धन्यवाद नै दिनुपर्छ । यसैले बिर्तामोड नगर क्षेत्रभित्रको सडक, कुलोपैनी हडपेर निर्माण गरिएका संरचना हटाउनैपर्छ ।
बिर्तामोडको मुख्य समस्याको रुपमा रहेको फोहोर व्यवस्थापन, सवारी पार्किङ, सार्वजनिक शौचालय, फुटपाथ व्यवस्थापन र अनाधिकृत रुपमा निर्माण गरिएको संरचना नै हो । नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि विस्तारै कामको गति शुरु गरेको छ । फोहोर व्यवस्थापनका लागि कनकाईमा निर्माण भइरहेको नविकरणीय उर्जा परियोजना नै एउटा समाधान हो । फुटपाथ पनि लगभग व्यवस्थापनको चरणमा पुगेको छ । पार्किङका लागि फुटपाथ व्यवस्थापनपछि केहि समाधान खोज्ने प्रयास भइरहेको छ । त्यसले पनि निकास पाउने संभावना बढेर गएको छ । अहिले अनाधिकृत संरचना हटाउने अभियान थालेको छ । यो कामलाई पार लगाउन सबैले रचनात्मक सहयोग गर्नैपर्छ । एसियन हाइवे निर्माणपछि यहाँका तमाम समस्याहरु स्वतः हल भएर जाने निश्चित छ । वर्तमान योजना सफल बनाउन सहयोग गरौं ।