दीर्घकालीन रुपमा फोहोर ब्यवस्थापन गर्दै झापाका पालिका, ग्यास र मल उत्पादन गर्ने
बिर्तामोड । झापाका स्थानीय तहहरु फोहोर व्यवस्थापनका लागि एकजुट हुन थालेका छन् । अहिले नै ठुलो समस्या झेल्दै आएका पालिकाहरु भविष्यमा फोहोर व्यवस्थापनको समस्या जटिल हुने आँकलन गर्दे बेलैमा आवश्यक व्यवस्थापनका लागि जुटेका हुन् ।
निजी क्षेत्रबाट निर्माण गरिएको कनकाई–बिर्ता–अर्जुन नविकरणीय उर्जा परियोजना मार्फत दीर्घकालिन समाधानको लागि पालिकाहरु छलफलमा जुटेका छन् । बिर्तामोड नगरपालिका अन्य पालिकाभन्दा धेरै समस्या झेल्दै आएको पालिकामा पर्दछ । बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिका सो उर्जा परियोजनामा लगानी गरेर नगरको फोहोर व्यवस्थापनका लागि दीर्घकालिन समाधान खोजिरहेका छन् ।

पहिलो चरणमा तीन वटा नगरपालिका परियोजनामा जोडिने भनिए पनि अहिले आएर शिवसताक्षी, मेचीनगर, बुद्धशान्ति र भद्रपुर पनि जोडिने गरी छलफलमा जुटेका छन् । फोहोरको स्रोतमै छुट्याएर विक्रि गर्न मिल्ने सामग्री विक्री गरेर अन्य फोहोरबाट ग्यास, प्राङ्गारिक मल र झोल मल उत्पादन गर्ने तयारी गरिएको छ ।
पालिकाहरुको लगानी प्रतिवद्धता भइसकेको छ, सो परियोजनाका सञ्चालक सुवास भट्टराई भन्छन्– प्रतिवद्धता अनुरुप लगानी शुरु भए तत्कालै परियोजना सञ्चालन आउनेछ । सो परियोजनाका बारेमा शुक्रवार जनप्रतिनिधि, सञ्चालक समिति, सरोकारवाला र विज्ञहरुका बिचमा छलफल समेत भएको छ ।
बिर्तामोड नगरपालिकाले संयोजन गरेको सो छलफलमा अधिकांशले उर्जा परियोजना सञ्चालनमा ढिलाई गर्न नहुने धारणा राखेका थिए । सबै पालिकाको फोहोर व्यवस्थापन साझा समस्या भएकोले तत्कालै मेसिन सञ्चालनमा ल्याउन सूझाव समेत दिइएको थियो ।
तीन पालिकाले २ करोड २५ लाखका दरले लगानी गर्नुपर्ने प्रस्ताव छ । हालसम्म अर्जुनधाराले ३० लाख र कनकाईले ६० लाख लगानी गरिसकेको छ । बिर्तामोड नगरपालिका लगानी गर्ने चरणमा पुगेको छ । परियोजनाको कुल लगानी २२ करोड बढि छ ।
दैनिक २७ टन फोहोर व्यवस्थापन गर्दै ग्यास र मल उत्पादन गर्न सक्ने उर्जा परियोजनाबाट निजी क्षेत्र र पालिकाहरु समेत लाभान्वित हुनेछन् । बिर्तामोडकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले सबै पालिकाहरुलाई फोहोर व्यवस्थापन भविष्यमा ठुलो समस्या हुने भन्दै बेलैमा सचेत हुनुपर्ने बताइन् । उनले जिल्लाका सबै पालिकाहरुलाई लगानी गर्न आग्रह गरिन् । प्रमुख महताराले भनिन्, ‘शुरुआतमा परियोजना बारे धेरै अस्पष्टा भयो । अहिले यसको महत्व बारे बुझ्न थालिएको छ, समयमै काम सम्पन्न गर्न सकेको भए अहिले फोहोरको तनाव व्यहोर्नु नपर्ने रहेछ ।’
आम नागरिकमा फोहोर व्यवस्थापन बारे चेतना नभएसम्म समस्या हल नहुने उनको धारणा थियो । प्रमुख प्रसाईले प्रविधिसँग जोडिर पालिका अघि बढेपछि नागरिक तहबाटै आवश्यक पहलकदमी जरुरी पर्ने बताइन् । दीर्घकालिन व्यवस्थापन गर्ने भएपछि फोहोरको प्रकार छुटउने, आवश्यक व्यवस्थापनको जिम्मा पनि टोल विकास संस्थालाई दिन सकिने बताइन् ।
संविधान सदस्य प्रेम गिरीले उर्जा परियोजना अन्तर पालिकाहरुको समन्वयको उदाहरण भएको बताए । झापाको कनकाईमा सञ्चालनको तयारीमा रहेको परियोजनामा निजी क्षेत्रको भन्दा पालिकाहरुको नेतृत्वदायी लागनी हुनुपर्ने उनको धारणा थियो । गिरीले तत्काल पालिकाहरुले परियोजना सञ्चालनमा ल्याउन अग्रसर हुनुपर्ने बताए ।
कनकाईका मेयर राजेन्द्र पोखरेलले परियोजनाबाट उर्जा उत्पादनको चरणमा पुगेको बताएका छन् । उनले भविष्य अर्थात आउने पीडिका लागि फोहोर समस्या नहोस् भन्ने उद्देश्यले सो परियोजना सञ्चालन गरेको बताए ।
यस्तै, नेपाली कांग्रेस बिर्तामोडका सभापति भोजराज सिटौलाले फोहोर व्यवस्थापन सबैको साझा दायित्व भएको बताएका छन् । उनले फोहोर व्यवस्थापन पालिकाहरुको मात्रै काम नभएको भन्दै दलहरु पनि प्रतिवद्ध भएर लाग्नुपर्ने बताए । नेपाली कांग्रेस फोहोर व्यवस्थापनको सवालमा सहयोग गर्न तयार छ । सबै दलहरु मिलेर फोहारबाट मुक्ति दिने योजना बनाउनुपर्ने उनको भनाई थियो । उर्जा परियोजनालाई दलगत हिसावले हेर्न नहुने सिटौलाले बताए ।
अर्जुनधाराका पूर्व मेयर हरि रानाले कनकाईले अगुवाई गरेको, अर्जुनधाराले सहयोग गरेको परियोजनाको नेतृत्व बिर्तामोडले गर्नुपर्ने बताएका छन् । फोहोरले संकट ल्याइसकेको भन्दै रानाले यसको आवश्यक व्यवस्थापनमा ढिलाई गर्न नहुने बताए ।
छलफलमा मेचीनगरकी उपप्रमुख मिना उप्रेती, अर्जुनधाराकी उपमेयर खड्गमाया पराजुलीसहित शेयर लगानी कर्ता र सरोकारवाले परियोजनाका बारेमा धारणा राखेका थिए ।