जेष्ठ १३, २०८२ सोमबार

कांग्रेसबाट निर्वाचित वडाध्यक्षलाई सम्मान

विर्तामोड । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका बक्ताहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेद्वारको मुख नहेरी रुख चिन्ह हेरेर मत दिन आम जनतालाई आह्वान गरेका छन् ।

नेपाली कांग्रेस विर्तामोड नगर समितिको आयोजनामा सम्पन्न १०९ औं वी.पी. जयन्ती एवं सम्मान कार्यक्रमलाई सम्बोधन गर्ने अधिकांश बक्ताहरुले कसले टिकट पाउँछ भन्ने मूल विषय नभएको बताउँदै वी.पी.ले प्रतिपादन गरेको नेपाली भूगोल अनुरुपको प्रजातान्त्रिक समाजवादको सपना पुरा गर्न मुख होइन, रुख हेर्नुपर्ने बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं केन्द्रीय सदस्य सरिता प्रसाईले यसअघिको निर्वाचनमा दुईतिहाइ प्राप्त गरेको एमालेले मुलुकको नेतृत्व गर्न नसकेकै कारण कांग्रेस नेतृत्वमा सरकार बनेको बताइन् ।
मुलुकको परिवर्तनका लागि भएका आन्दोलन एवं ब्यवस्था परिवर्तनको नेतृत्व कांग्रेसले गरिरहेको इतिहास बताउँदै नेता प्रसाईले दशौथरी विचार बोकेकाहरुलाई एकै ठाउँमा राखेर संविधान जारी गर्ने ऐतिहासिक जिम्मेवारी कांग्रेस नेतृत्वमै भएको बताएकी छन् ।

कार्यक्रमका अधिकांश बक्ताहरुले कांग्रेसभित्रको अन्तरविरोध र अन्तरद्वन्द्वलाई आन्तरिक छलफलबाट टुङ्ग्याएर आगामी निर्वाचनमा कांग्रेसको पक्षमा मतपरिणाम प्राप्त हुनेगरी एकजुट भएर चुनावी अभियानमा लाग्नुपर्नेमा जोड दिए ।
नेपाली परिवेशलाई हेरेर समाजवादी दर्शन प्रतिपादन गरेका वी.पी.को सोच, सिद्धान्त पूरा गर्न उनको दर्शन र निष्ठालाई प्रत्येक कांग्रेस कार्यकर्ताले आफ्नो जीवनशैली बनाउनुपर्नेमा बक्ताहरुको जोड थियो ।

कार्यक्रममा स्थानीय तह निर्वाचनमा नगरभित्र जित हासिल गरेका जनप्रतिनिधिहरु विर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ, ६ का वडाध्यक्ष सूर्य कन्दङवा, ५ का वडाध्यक्ष रोहित प्रसाईसहित वडा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : भाद्र २५, २०७९ शनिबार  १० : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]