झापामा पूर्वश्रीमान विरुद्ध बागी उठ्ने माओवादी नेतृको घोषणा
बिर्तामोड । झापा क्षेत्र नं. ३ मा नेकपा माओवादी केन्द्रको प्रदेश तर्फको उम्मेद्वारीका विषयमा एउटा फेसबुक स्टाटसले हलचल ल्याएको छ । आफुलाई भद्र नेताको परिचय दिन खोज्ने माओवादी नेता हिक्मत घिमिरे विरुद्ध पूर्वपत्नीले उम्मेद्वारी दिने कुरा फेसबुकमा सार्वजनिक भएको छ ।
जनयुद्धकालमा घिमिरेले बाह्रदशी निवासी शान्ता राजवंशीसँग विवाह गरेका थिए । उनीहरु बिच सम्बन्ध विच्छेद भइसकेको छ । क्षेत्र नं ३ ‘क’ बाट घिमिरेले प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी सिफारिस भएपछि उनका विरुद्ध पूर्वपत्नीले बागी उम्मेद्वारी दिने घोषणा गरिसकेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, – वर्गीय,जातीय उत्पीडन , महिला हिंसा र भ्रष्टाचारका बिरुद्ध र झापा क्षेत्र न ३ को विकास र समृद्धिका लागि झापा क्षेत्र नं ३ ‘क’ को प्रदेशसभाको सदस्यका लागि आफू उम्मेद्वार बन्न तयार रहेको छु ।
घिमिरेले अहिले दोस्रो विवाह गरेर काँकरभिट्टा बस्दै आएका छन् । उनलाई ३ नम्बर क्षेत्रमा प्रवेश गर्नै नदिने राजवंशीको घोषणा छ । उनले भनिन्, पार्टीले टिकट दियो भने पार्टीकै तर्फबाट उठ्छु , नत्र वागी भएपनि झापा क्षेत्र नं ३ ‘क’ को प्रदेशसभाको सदस्यका लागि उम्मेद्वारी दिन्छु ।
१६ वर्षकी राजवंशीसँग घिमिरेले विवाह गरेका थिए । माओवादी नेता घिमिरेले अर्की श्रीमती ल्याएपछि राजवंशीसँग सम्बन्ध विच्छेद भएको थियो । आफुमाथिको अन्याय गर्नेका विरुद्ध जनताको बिचमा जाने शान्ताले संकप्ल गरेकी छन् ।
तत्कालिन नेपाल महिला संघ झापाको उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरेकी शान्ताले जनयुद्धमा विजय हासिल गरेर पनि श्रीमानसित पराजित हुनुपरेको थियो । उनले भनिन्, अब निर्वाचनमा विजय गरेर देखाउछु ।