सरकारको स्वीकृति बमोजिम कनकाईको उर्जा प्लान्टमा स्थानीय तहको लगानी
बिर्तामोड । नेपाल सरकारको स्वीकृतिमा झापाका स्थानीय तहहरुले पब्लिक कम्पनीसँगको लगानी साझेदारीमा फोहोर व्यवस्थापन गर्ने भएका छन् । फोहोरबाट ग्यास र मल उत्पादनका लागि कनकाई नगरपालिका –३ मा कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी नामक पब्लिक लिमिटेड कम्पनीले प्लान्ट निर्माण गरिसकेको छ ।
सो प्लान्टमा बिर्तामोड सहित अन्य स्थानीय तहहरुले लगानी साझेदारी गरेर फोहोर व्यवस्थापनको तयारी गरेका छन् । स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा २६ बमोजिम स्थानीय तहहरुले सार्वजनिक निजी साझेदारी गर्न पाउने व्यवस्था बमोजिम कार्य गर्न पाउने उल्लेख छ । सोही अनुसार बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले लगानी गर्ने भएका हुन् । कनकाईले ६१ लाख र अर्जुनधाराले ३० लाख लगानी गरिसकेको छ । पालिकाहरुले २ करोड ५४ लाखका दरले लगानी गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।
पालिकाहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवस्तरीय निर्णयबाट स्वीकृति प्राप्त गरेको छ । सो स्वीकृतिपछि मात्रै बिर्तामोडले लगानीका लागि थप तयारी गरेको हो । बिर्तामोड नगरपालिकाले सो परियोजनामा शेयर खरिद गर्ने बताइएको छ । कम्पनीका सञ्चालहरु भन्छन्, सबै पालिकाहरुले शेयर खरिद गर्ने हो, अनुदान दिने होइन ।
कनकाई बिर्ता अर्जुन नविकरणीय उर्जा कम्पनीले सबै पालिकाको फोहोर व्यवस्थापनमा सहयोग पुग्ने उद्देश्यले निर्माण थालेको थियो । उद्देश्य अनुरुप काम अघि बढाएको परियोजनाले वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबाट समेत साढे ५ करोड पाउनेछ । हालसम्म केन्द्रले २ करोड ७७ लाख प्रदान गरिसकेको कम्पनीले जनाएको छ ।
स्वतन्त्र विज्ञ तारानाथ निरौलाले कम्पनीको दीगो सञ्चालनका लागि व्यवस्थापकीय पक्षबारे सरोकारवालाई जानकारी गराईसकेका छन् । उनले तयार गरेको प्रतिवेदन स्थानीय तहका प्रमुख,उपप्रमुख, कम्पनीका सञ्चालक, सरोकारवा समक्ष प्रस्तुत समेत गरिसकेका छन् । निरौलाले तयार गरेको प्रतिवेदनमा हालसम्म १३ करोड ५३ लाख ८८ हजार ४ सय ६८ रुपैयाँ १२ पैसा लगानी भइसकेको छ ।