असोज १ गतेबाट पेट्रोलियम कारोबार ठप्प पार्ने चेतावनी
हेटौंडा । नेपाल आयल निगमसँग अन्य सञ्चालन खर्च वृद्धिको अनुपातमा ढुवानी भाडा वृद्धिको माग गर्दै आएका नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले माग सम्बोधनका लागि आन्दोलन अगाडि बढाएका छन् ।
महासंघले हालसम्म ढुवानी भाडा समायोजन हुन नसकेको हुँदा महासंघको प्रतिनिधिसमेत रहेको कार्यदलले पेस गरेको प्रतिवेदन अनुसार हुने ढुवानी भाडा भदौ २४ सम्ममा समायोजन गर्न माग गरेका थिए । ट्याङ्कर सञ्चालन खर्चमा अत्यधिक वृद्धि भएका कारण हालको खर्चबाट ढुवानी सञ्चालन गर्न नसक्ने भएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका मध्यमाञ्चल अध्यक्ष तथा केन्द्रिय सहसचिव दीपक शिवाकोटीले जानकारी दिए । व्यवसायीहरूले भदौ २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ (पर्चेज डेलिभरी अडर) लिएका छैनन् भने भारतबाट आउने पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पारेका छन् ।
यस्तै बुधबारबाट निगमका डिपोबाट अन्यत्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ नगरिएको पनि शिवाकोटीले बताए । अहिले पम्प पम्पमा तेल ढुवानी भने गरिरहेका छन् । माग सुनुवाइमा आयल निगम उदासिन भएको भन्दै असोज १ गतेबाट कारोबार ठप्प पार्ने व्यवसायीले चेतावनी दिएका छन् ।